सिन्धुपाल्चोकमा फेरि भीषण पहिरो : १८ घर पुरिए

सिन्धुपाल्चोक,  यसअघिको पहिरोमा बेपत्ताहरु भएकाहरु सबै फेला परिनसकेकै अवस्थामा सिन्धुपाल्चोकमा फेरि भीषण पहिरो गएको छ । पहिरोमा हराइरहेका आफन्तहरुको अवस्था अझै अज्ञात रहिरहेका बेला सिन्धुपाल्चोकमा फेरि बाढी–पहिरोको अर्को विपति थपिएको छ । जिल्लाको बाह्रविसे नगरपालिकाका भिरखर्क, नागपुजे र चाङसार भन्ने पस्थानमा फेरि पहिरो गएर घरहरु पुरिएका छन् ।

यसअघिका पहिरोपीडितलाई व्यवस्थापन गरी नसक्दै सिन्धुपाल्चोकमा फेरि अर्को पहिरोले पीडा थपेको बताउँदै प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल भन्छन्, ‘क्षतिको एकिन विवरण आइनसकेको छैन ।’ पछिल्लो बाढी पहिरोले नागपुजेमा बढी क्षति पुगेको जानकारी आएको बताउँदै प्रजिअ ढकाल भन्छन्, ‘तर कति क्षति पुगेको छ भन्ने अहिले सबै थाहा भइसकेको छैन ।’ उनले घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको जानकारी दिए ।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले भने कम्तिमा १२ जना मानिस बेपत्ता भएको जानकारी दिएका छन् । गए राति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पु¥याएको हो । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो ।

बलेफी र जलवीरेमा जलसतह सतर्कता तहसम्म पुगेको र यो बढ्दो क्रममा रहेको केन्द्रले जनाएको छ । साथै भोटेकोशी, इन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदीमा आकस्मिक बहाव हुन सक्ने र पहिरो जान सक्ने भएकाले आज बिहान १० बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ । सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुई जना अझै बेपत्ता छन् ।