अब देशभर दुई हजारमै पिसिआर परीक्षण

काठमाडौं,  सरकारले देशभरका सबै प्रयोगशालामा गरिने पीसीआर परीक्षण शुल्क अधिकतम दुई हजार रुपैयाँ तोकेको छ ।परीक्षणमा प्रयोग हुने सामानहरूको मूल्य घटेको आधारमा शुल्क संशोधन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । निजी तथा सरकारी सबै प्रयोगशालामा सबै शुल्कसहित पिसिआर परीक्षणको अधिकतम दुई हजार रुपैयाँ मात्र तोकिएको गौतमले जानकारी दिए ।

चार वटा अस्पतालमा पिसिआर जाँच गर्दा फरक–फरक नतिजा आएको सम्बन्धमा मन्त्रालयले ध्यानाकर्षण भएको उल्लेख गर्दै गौतमले त्यसको जाँच शुरु भएको जानकारी दिए । के–कसरी त्यस्तो भएको सम्बन्धमा मन्त्रालयले जाँच थालेको छ,’ गौतमले भने ।

बंगलादेशबाट प्राप्त भएको रेम्डेसिभिर औषधि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निर्देशिकाअनुसार प्रयोग गर्न सूचीकृत भएका अस्पतालहरूमा बिरामीको चापअनुसार वितरण गर्ने र त्यसको सम्पूर्ण विवरण परिषदमार्फत मन्त्रालयमा पेस गर्नुपर्ने निर्णय भएको गौतमले उल्लेख गरे ।

अहिले मात्र पाँच हजार भाइल रेम्डेसिभिर इन्जेक्सन प्राप्त गरेको गौतमले जानकारी दिए । त्यसैगरी देशभर सञ्चालित एम्बलेन्स बिरामी बोक्नेबाहेक अन्य प्रयोजनमा प्रयोग भएको पाइएमा तुरुन्त दर्ता खारेज गरिने र भविष्यमा उक्त संस्थालाई एम्बुलेन्स सञ्चालन पनि गर्न नदिइने निर्णय भएको गौतमले बताए । शुरुमा पीसीआर टेष्टको शुल्क पाँच हजार ५०० तोकिएको थियो । पछिल्लो समय त्यसलाई घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो ।