वर्षासँगै बाढी पहिरो आउने सम्भावना
काठमाडौं, आज पनि देशभरको मौसममा बदली भइ विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तर अर्थात् नेपालभन्दा केही दक्षिणमा रहनुका साथै भारतको पश्चिम बंगालनजिक न्यून चापीय क्षेत्र पनि बनेका कारण नेपालको मौसम बदली तथा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज प्रदेश १ देखि ५ सम्मका विभिन्न स्थानमा ठूलो वर्षा तथा बाढीपहिरोको सम्भावना देखिएको भन्दै मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ।शनिबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ, ‘प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’