उपत्यकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६३ पुग्यो
काठमाडौं, काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ ।शुक्रबार बिहान काठमाडौंका ६३ वर्षीय पुरुषको मृत्यु भएसँगै उपत्यकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३ पुगेको हो । भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका ती पुरुषको शुक्रबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
शुक्रबार बिहानसम्ममा काठमाडौंमा ४६, भक्तपुरमा १० र ललितपुरमा ७ जनाको कोरोनाबाट मृत्यु भएको छ । साउन ७ गते १ सय २० दिन लामो लकडाउन खोलेसँगै काठमाडौं उपत्यकामा संक्रमण र मृत्युदर ह्वात्तै बढेको हो ।बढी जनघनत्व रहेको काठमाडौं उपत्यकामा मात्रै संक्रमित १० हजार नाघेका छन् । संक्रमितमध्ये करिब ३५ प्रतिशत लक्षणसहितका छन् ।
पिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिले उपत्यकामा ५ हजार ६६६ जना सक्रिय संक्रमित छन्।यीमध्ये १ हजार ७७८ जना विभिन्न अस्पतालमा उपचाररत छन्। अस्पतालका आइसोलेसनमा १ हजार ६८०, आईसीयूमा ७७ र भेन्टिलेटरमा २१ जना रहेको महाशाखाले जनाएको छ।बाँकी संक्रमित होम आइसोलेसन तथा संस्थागत आइसोलेसनमा छन्।