नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । आन्तरिक विवादका कारण स्थगित भएको बैठक डेढ महिनापछि शुक्रबार बसेको हो ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेबाट बैठक सुरु भएको छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको संयुक्त दस्तावेजबारे छलफल हुनेछ ।

गत साउन ३० गते महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको ६ सदस्यीय कार्यदलले दिएको प्रतिवेदनका आधारमा अध्यक्ष ओली र प्रचण्डले बैठकका एजेण्डा तयार गरेका छन् ।कार्यदललाई नै आधार बनाएर तयार एजेण्डामा दुई अध्यक्षको जिम्मेवारीबारे प्रस्ट पार्नेदेखि चैतमा महाधिवेसन गर्ने, निश्चित मापदण्डका आधारमा मन्त्रि तथा राजनीतिक नियुक्ति गर्ने, पार्टी एकताका बाँकी काम असोज महिनामा सक्ने,लगायतका विषय समेटिएका छन् ।

तर, उक्त दस्तावेजमा वरिष्ठ नेता माधवकुमार नेपालका १५ बुँदे असन्तुष्टीलाई भने समेटिएको छैन् ।