तत्काल लकडाउनको विकल्प खोज्न राप्ती उवासंघ ,भालुवाङको माग

दाङ,  राप्ती उद्योग बाणिज्य संघ भालुवाङले तत्काल लकडाउनकाे बिकल्प खाेजी अबिलम्ब व्यापार, व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाउन माग गरेकाे छ । संघका अध्यक्ष जगतप्रसाद पाेख्रेलले एक प्रेस विज्ञप्ति जारी गरी लकडाउन गर्नेपर्ने अवस्थामा भएमा संक्रमण फैलिएका सम्बन्धित गाउँ, टोल, वार्ड, गाउँपालिका र नगरपालिकालाई सिल गरी अन्य ठाउँमा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पुरा गरी सहज रुपमा व्यापार, व्यवसाय सञ्चालन गर्ने वातावरण मिलाउन नेपाल सरकार तथा सम्बन्धि निकाय संग माग गरेकाे छ ।

विज्ञप्तिमा अगाडि भनिएकाे छ- “लामो समय सम्मको लकडाउनका कारण व्यवसायहरु पुरै टाट पल्टिने स्थिति रहेको छ । साथै सर्वसाधारण जनताहरु रोजगार बिहिन भई साझँ, बिहान दैनिक गुजारा चलाउन नसकी रोगले भन्दा पनि भोकले मर्ने अवस्था सृजना भएको छ । यस्तो परिस्थितीमा पुन  सरकारले पूर्ण लकडाउन थप गर्ने भन्दा पनि लकडाउनको विकल्प खोजिनु पर्छ,” विज्ञप्तिमा भनिएकाे छ । विज्ञप्तिमा भनिएकाे छ -“विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण मिति २०७६ चैत ११ गते देखि भएको लामो बन्दाबन्दीका कारण आम उद्योगी, व्यापारी र सर्वसाधारणको जनजीवन प्रभावित भएको छ ।

लामो समय सम्मको लकडाउनले आम उद्योगी, व्यापारीहरु ठुलो आर्थिक भारमा पर्नुका साथै आफ्नो पेसा, व्यावसायबाट समेत पलाएन भईरहेको र बाँकी रहेका उद्योग, व्यवसायहरु समेत आफ्नो पेशा व्यवसाय छोडेर निरन्तर पलाएन हुने क्रम जारी रहेको जारी विज्ञप्तिमा उल्लेख छ । साथै यही प्रकारको पूर्ण लकडाउन यसरी नै जारी राखी राखेमा यस प्रकारको पूर्ण लकडाउनको कुनैपनि हालतमा पालना गर्न नसकिने समेत बिज्ञप्ती मार्फत सरकारलाई चुनाैति दिएकाे छ ।