गण्डकीमा फेरि थपिए ७९ जना कोरोना संक्रमित
पोखरा, पाल्पाका ३० सहित गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ७९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । गण्डकी प्रदेश र पाल्पामा स्वास्थ्यकर्मी, प्रहरी र जनप्रतिनिधिसहित ७९ जना कोरोना सङ्क्रमित थपिएका हुन् । गण्डकी प्रदेशमा स्वास्थ्यकर्मी र प्रहरीसहित ४९ जना सङ्क्रमित थपिएका हुन् ।
सबैभन्दा धेरै सङ्क्रमित कास्कीको पोखरा महानगरपालिकामा १९ जना थपिएका छन् । त्यस्तै स्याङ्जामा १२ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै बाग्लुङका नौ जना, तनहुँमा तीन जना, नवलपरासी सुस्ता पूर्वमा पाँच जना र पर्वतमा एक जना थपिएका छन् ।
पोखरामा सङ्क्रमण पुष्टि भएकामध्ये एक जना पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत नर्स र पर्वतमा प्रहरीमा कार्यरत रहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।
योसँगै स्याङ्जाका सङ्क्रमितमध्ये ४ जना जिल्ला मालपोत कार्यालयका कर्मचारी र एक जना वडा सचिव रहेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।
स्याङ्जामा सङ्क्रमित भएका जुवाडेहरुको सम्पर्कमा आएकाको कन्ट्याक ट्रेसिङमा समुदायस्तरका पाँच जनामा कोरोना देखिएको उनले बताए । योसँगै बिहीबार बिहानसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या दुई हजार सात सय २८ जना पुगेको छ ।
एक हजार आठ सय आठ जना निको भएका छन् । यस्तै पाल्पामा एकै दिन ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो बेलुका प्राप्त रिपोर्टअनुसार रम्भा गाउँपालिकाका ९ जना र बाँकी १९ जना तानसेन बजार क्षेत्रका हुन् ।
नेपालमा हिजो एक हजार ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कूल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । सङ्क्रमितमध्ये ९१८ जनासहित कूल ३३ हजार ८ ८२ जना निको भएका छन् ।