ललितपुरमा ट्राफिक प्रहरी कुट्ने १६ जनामध्ये दुई जनामा कोरोना संक्रमण
काठमाडौं, ललितपुरको पुल्चोकमा गत विहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा भएको झडपमा ट्राफिक प्रहरीलाई कुटेको अभियोगमा पक्राउ परेका १६ जनामध्ये दुई जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।
पक्राउ परेका १६ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गराउँदा दुई जनामा कोरोना संक्रमण देखिएको ललितपुर महानगरीय प्रहरी परिसरले जनाएको छ । अहिले पक्राउ परेकालाई पहिलेदेखि नै क्वारेन्टिन अलग–अलग राखिएको र स्वाब संकलन गरी पीसीआर परीक्षण गराइने बताउँदै त्यसको रिपोर्ट आएपछि मात्र उनीहरूलाई म्याद थपका लागि अदालत लगिने परिसरका प्रमुख एसपी टेकबहादुर राईले जनाएका छन् ।
समाचार स्रोतले यसै क्रममा दुई जनामा कोरोना पुष्टि भएको जानकारी दिए पनि एसपी राईले भने यसबारे औपचारिक रिपोर्ट आइनसकेको बताएका छन् । गत बिहीबार पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो । त्यस क्रममा ट्राफिक प्रहरी जवान कमल घिमिरेलाई निर्घात कुटपिट गरिएको थियो।
घटनामा संलग्न १६ जनालाई अहिले परिसरको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको एसपी राईले जानकारी दिएका छन् । त्यस दिन झडप नियन्त्रणमा खटिएका १८ प्रहरीलाई समेत यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ । झडपपछि स्थानीय प्रशासन र स्थानीयबीच छलफल गरी भएको सहमति अनुसार भौतिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आइतबार कडा सुरक्षाका बीच रथ तानिएको छ ।