दाङको राप्ती गाउँपालिकामा थप २ जनामा कोरोना पुष्टि

 दाङ,  दाङमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा राप्ती गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आदर्श स्कुलको पुरानो भवनमा रहेको क्वारेन्टाइनमा बस्दै आएको उनीहरुको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय दाङका कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि हुनेमा राप्ती गाउँपालिका वडा नम्बर १ का ३९ वर्षीया महिला र १६ वर्षीय पुरुष रहेका छन् ।

उनीहरू दुवै जना भारतबाट आएको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिएका छन् । गत भदौ १९ गते ७२ जनाको स्वाव संकलन गरि पठाएकोमा ७२ जना मध्येबाट २ जनाको पोजेटिभ रिपोर्ट आएको हो कि केही संख्याबाट परिक्षण गरेर रिपोर्ट आएको हो भन्ने कुरा केही जानकारी नआएको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् । अब राप्ती गाउँपाललिकामा सक्रिय संक्रमितको संख्या ७ पुगेको छ ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८४० पुगेको छ भने ती मध्ये ७०६ जना उपचारपछि निको भइ डिस्चार्ज भइसकेका छन् । अब १३२ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ । यसैबीच, सक्रिय संक्रमित मध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा मात्र ६६ जना रहेका छन् भने सबैभन्दा कम लमही नगरपालिकासँगै गढवा र दंगीशरण गाउँपालिकामा ११ जना रहेका छन् । यस्तै तुलसीपुर उपमहानगरपालिकामा ४१, शान्तिनगर गाउँपालिकामा १३, राप्ती गाउँपालिकामा ७ र राजपुर गाउँपालिकामा २ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।