ललितपुर शिल, कडा सुरक्षाबीच तानिंदै रातो मछिन्द्रनाथको रथ

काठमाडौं, झडपपछि बिहीबार रोकिएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने कार्यक्रम आज पुनः हुने भएपछि ललितपुर क्षेत्र शिल गरिएको छ ।ललितपुरको पुल्चोकमा हुने कार्यक्रमका लागि महानगरीय प्रहरी परिसर, ललितपुरले विभिन्न नाकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी कडा सुरक्षा व्यवस्था लागू गरेको छ ।ललितपुर प्रवेश गर्ने बालकुमारीदेखि बल्खुसम्मको सबै क्षेत्र अहिले शिल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, प्रहरी र ज्यापु समाजका पदाधिकारीबीच भएको छलफल अनुसार बढीमा पाँच सय जना जति व्यक्ति मात्र आवश्यक सुरक्षा विधि अपनाएर रथ तान्नका लागि सहमति भएको छ ।महामारीको समय स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै विभिन्न नाका शिल गरिएको हो ।अनुसार सीमित भनेर तयार गरिएको सूचीमा पनि ४३४ जना रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार १६० जना रथ तान्ने, १२४ जना स्वयंसेवक, २८ जना बाजागाजा बजाउने समूह र ज्यापु समाजका विभिन्न पदाधिकारी १२२ जना गरी ४ सय ३४ जना भेला भएर रथ तानिँदैछ ।

कार्यक्रम स्थलको चारैतिर प्रहरीको घेरा हुने सुरक्षा तयारीको खाकामा उल्लेख छ । बिहीबार प्रशासनको अनुमित बिना ठूलो संख्यामा मानिसको भिड जम्मा भएपछि विवाद भएको थियो । त्यस क्रममा एक जना ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट समेत भएको थियो ।उपत्यकाका अन्य ठाउँमा पनि यसअघि देखि नै निषेधाज्ञा जारी रहेको जानकारी दिंदै ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राई भन्छन्, ‘आज थप कडाइ गरिएको छ, रथयात्रा सांकेतिक मात्रै हुने भएकाले अहिले त्यस क्षेत्रको अवस्था सामान्य छ, पर्याप्त जनशक्ति खटाएका छौं ।’निषेधित क्षेत्रमा हिंडडुलमा कडाइ गरिएको छ भने चक्रपथबाट शहरभित्र प्रवेश गर्ने सडकमा समेत बिहानैदेखि थप कडाइ गरिएको छ ।

नेवार समुदायका विभिन्न संघसंस्थाले परिचालन गर्ने स्वयमसेवकले आइतबार ३ बजेबाट रथ तान्ने छन् । यसका लागि प्रशासनसँग सहमति भइसकेको छ।कोरोना संक्रमणकोे जोखिमका कारण यसवर्ष पहिले जसरी नगर परिक्रमा गराइने छैन । पुल्चोकस्थित रथ रहेको स्थानबाट करिव १५ मिटर अगाडि सारेर त्यहीँ रथको पूजा गरिने छ ।