गोरखा अस्पतालमा हिजो मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि

गोरखा, गोरखा अस्पतालमा उपचारका क्रममा हिजो मृत्यु भएकी गोरखा नगरपालिका–७ की ७५ वर्षीय वृद्धामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।परिवारका तीन सदस्यमा कोरोना देखिएपछि उनको पनि स्वाव संकलन गरेर जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो ।

शुक्रबार उनको परिवारका सदस्यमा कोरोना देखिएपछि शनिवार बिहान महिलाको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाएकोमा आज शनिबार पोजेटिभ रिपोर्ट आएको जिल्ला अस्पताल गोरखाका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।उनलाई अचेत अवस्थामा शनिवार अस्पताल ल्याइएको थियो । सोही दिन अस्पतालका डाक्टरले मृत घोषणा गरेको ढकालले जानकारी दिए ।

‘हिजो २ बजेतिर अस्पताल ल्याइएको थियो, साढे चार बजेतिर उहाँलाई मृत घोषणा गरियो ।उनको शव आइसियूमै रहेको उनले जानकारी दिएका छन् । शव व्यवस्थापनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताएका छन् ।