संघर्ष र प्रेरणाका साक्षात उदाहरण धिरूको घत लाग्दो बृतान्त

जसले कलाकार बन्न तमाम अँधेरी रात छिचोले

 जीवन त एक गतिशीलता र सक्रिय संघर्षको बहाव हो। यद्यपि यो जिवनमा संघर्ष नै भएन भने यसको अर्थ के हुन्छ र ? सुखका दिनहरु राम्रा अवश्य हुन्छन तर दीर्घकालीन जिन्दगीको पदयात्रामा मार्गदर्शक बन्न सक्दैनन् । अनि जिवनरुपी लघु इतिहासमा समेटिन योग्य हुदैनन । सुन्दर फुलको मौसमको पवन साच्चिकै मिठासपुर्ण हुन्छ यसमा कुनै संका छैन तर फुलहरु फुलाउन पनि झरी पर्नैपर्छ, चर्को घामले पोल्नैपर्छ अनि आँधी हुरि पनि आउनैपर्छ तब पो सौन्दर्य र सुगन्ध फैलाउन योग्य बनेर फक्रीन सक्छ फुल पनि । सफलताका उच्च शिखर चुम्न हामी फुल फुल्नु पुर्वको मौसमबाटै गुज्रनु पर्छ।

आज म लेख्दै छु संघर्षका मुर्त उदाहरण र प्रेरणाका साक्षात स्वरुप धिरेन्द्र शाहीको बारेमा। प्रेरणा र संघर्षका कथाको खोजिमा गम्दै गर्दा उनी सँग भएको साक्षात्कार लाई मैले यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु।

दैलेख जिल्लाको हालको ठाँटिकाँध गाउँपालिका ६ मा वि सं २०४८ असोजमा जन्मेका धिरेन्द्र ६ दाजुभाइ मध्य कान्छा हुन । कुलीन परिवारमा जन्मिएका र कठोर सांस्कृतिक अनुशासनको परिधी भित्र हुर्केका भएपनि धिरेन्द्र भने सबैभन्दा पृथक सोच र स्वभावका छन। गायन र सांगीतिक क्षेत्रमा उनको उच्च लगाव भएता पनि पारिवारिक कुलिनता र सांस्कृतिक अनुशासनले उनलाई बन्देज नलगाएको भने पक्कै होइन ।

कुराकानीको क्रममा उनले भनेका थिए, सबै दाजुहरु पढेलेखेका शिक्षित र जिम्मेवार पदमा बहाल हुनुहुन्छ तर आफ्नो बिधा मात्र फरक छ। हुनत उनी पनि हाल विमा कम्पनीको म्यानेजर हुन तथापी उनको जिवनको उदेश्य भने पृथक नै छ। आफ्नो स्वभाव बारे स्पष्ट पार्दै उनले भने ुम कोहिले नगर भनेको काममा झनै बढी आकर्षित हुन्छु साहेद त्यसैले होला परिवार र समाजले जञ्जिर लगाउँदा लगाउँदै पनि सांगीतिक क्षेत्रमै बढी लगाव बढ्यो ।

पारिवारिक अस्विकृती र सांस्कृतिक परिधिले घेरिएका धिरेन्द्र सांगीतिक यात्राको क्रममा आफ्नो साहिँलो दाजु नेम बहादुर शाही बाट भने सहयोग र प्रेरणा पाइरहेको कुरा सहर्ष स्विकार गर्दछन र उनी प्रती उच्च गर्व भएको पनि व्यक्त गर्दछन। उनले भने साहिलो दाजुको शब्दमै पनि मैले धेरै गित गाएको छु उहाँको सहयोगको स्तर उच्चतम छ तर सबै परिवारले भने यसलाई प्राथमिकतामा राख्दैनन।

विसं २०६५ मा एसएल सि पास गरेका उनले काठमाडौमा बसेर आइएससि पनि पास गरेका छन। उनले भने यदि मैले चाहेको भए शिक्षण गरेरनै पनि जीवन निर्वाह गर्न सक्थेँ तर पनि मेरो जिवनको उदेश्यनै संगीत हो अनि गायन क्षेत्रमा स्थापित हुनु हो। हुनत उनको सांगीतिक यात्रा पनि २०६५ बाटै सुरु भएको हो । संस्थागत जनचेतनामूलक सडक नाटक तथा कार्यक्रम हरुबाट गायन सुरु गरेका उनले पहिलो गित तीन चुलिका अग्ला शिर प्रकाशित गरेका थिए। जसले उनलाई हजारौंको भिडमा एक भिन्न किसिमको पहिचान दिलायो गायकको रुपमा। तत्पश्चात उनले सांगीतिक क्षेत्रलाई पेशागत रुपमा अंगाल्न पुगेका थिए र त्यही बिधामा अहोरात्र संघर्ष गरेका थिए।

जिवनले के दिन्छ मतलब छैन तर जिवनमा जे हासिल गर्नु छ त्यो सबै आफ्नो पौरखले मात्र सम्भावना हुन्छ । उनले पनि पौरख गरे आफ्नो सपनाको मार्गमा अनि संघर्ष गरे जिवनको गन्तव्य पहिल्याउन। परिवार उनको गन्तव्यको पहिलो र सबैभन्दा कठिन तगारो थियो तथापी उनले त्यसलाई सँधै नजरअन्दाज गर्दै गए ।  भलै आफ्नो जीवन कठिनाइको समुन्द्रमा संघर्षको लहरसंगै बहेली खेल्दै थियो । तथापी उनी बिचलित भएनन । आफ्ना कदमहरु त्यतैतर्फ बढाई रहे जहाँ उनको गन्तव्य थियो। आफ्नो मनले रोजेको काम हो त्यसैले हर कदममा त्यसको ख्याल गरिरहे।

सांगीतिक यात्राकाे त्याे घुम्ती

धिरेन्द्रको वास्तविक संघर्षको धरातल उनको सांगीतिक यात्रामै छ। तिम्रो हेराई ज्यानमारा, रातो रातो साडिमा झनै राम्रो हाँसो, रारा नसुकोस भेरी नसुकोस नेपालीको शिरको टोपी कहिले नझुकोस, नरुनु आमा छोरा सम्झेर, फर्केउ पर्देशी गाउँघर सम्झेर जस्ता सयौं चर्चित मौलिक लोकगित तथा प्रगतिशील गितहरुका गायक शाहीको सांगीतिक यात्रा नै एक कहालीलाग्दो कथा हो । अनि सयौं युवा वर्गको निम्ति प्रेरणाको स्रोत पनि हो । उनले भने, गायक बन्नको लागि काठमान्डौँको त्यो बसाइ जतिको चुनौतीपूर्ण समय सायद जिवनको अरु पलहरुमा सम्झना छैन । कोठामा खाट, तन्ना र पानी खाने जग बाल्टिन बाहेक अर्को केही थिएन ।

जीवनयापनको लागि काम गर्नु भन्दा अर्को विकल्प पनि थिएन। तर काम गर्ने कहाँ ?  त्यसको पनि ठेगान छैन। तब जितसागर रावतको सहयोगमा काठमाडाैँका दोहोरी साँझहरुमा धाउनु पर्ने भो मैले कामको लागि सपना शाकार पार्न । काठमाडाैँका अधिकांस दोहोरी साँझहरुमा मैले काम गरेको छु । त्यो पनि महिनाको पन्ध्र सय पारिश्रमिकमा !  अझ त्यो पनि कहिले पाउने अनि पाउने या नपाउने त्यसको पनि ग्यारेन्टी छैन । त्यसैमा आफू उतिको दक्ष कलाकार पनि परिएन । हप्ता दस दिन काममा राखेर थप सिक्नु भनेर निकालिदिन्थे फेरि अर्को ठाउँमा गुहार्न पुग्नु पर्थ्यो । साँझ रातिसम्म दोहोरीमा काम गर्ने अनि दिन भर पत्रीकामा काम गर्नुपर्ने तर त्यो सबैको पारिश्रमिक महिनाको केवल पन्ध्र सय मात्र । दिनहरु सजिला थिएनन तर पनि संघर्ष गरिएकै हो आफ्नो सपनाको फेदमा अडिएर टुप्पोमा पुग्नकै लागि।

कैंयौ रातहरु दोहोरी साँझमै सुतिन्थ्यो अनि कयौँ रात साथिहरुको कोठामा । कयौं पटक कोठाको गेटमै पुगेर फेरि सुत्न दोहोरिमै पुग्नुपर्ने हुन्थ्यो किनकी घरको अन्य मान्छेले रातिको समयमा गेट सम्म खोलिदिदैन्थ्यो। खान सम्म दुख खाइयो अनि पाउन सम्म पाइयो। जिवनले जतिसुकै कठिनाइपुर्ण मोडहरुमा उभ्याए पनि एकरती बिचलित भएको छैन। हुनत मैले जुन स्थानमा पुग्नुपर्ने हो त्यहाँसम्म पुगिसकेको छैन तर पुग्नको लागि गन्तव्य सु निश्चित गरेको छु। अग्निमा पोलिएको फलाम मात्र हतियार बन्दछ अनि भट्टिमा पोलिएको धातुलेनै सुन्दर आकृति धारण गर्न सक्छ। त्यस्तै मैले जिवनका अनगिन्ती संघर्षका अग्निहरु पार गरेको छु, दुखका भट्टिहरुमा पोलिएको छु। आज मैले आफुलाई आफ्नो गन्तव्य प्राप्त गर्ने शशक्त औजार बनाइसकेको छु म हार्ने छैन। मेरो जिवनमा अब उप्रान्त पनि आउलान चुनौतीपूर्ण अवस्थाहरु अनि अबका दिनहरुमा पनि आउलान दुखहरु तर तिनीहरुबाट म कहिल्यै बिचलित हुने छैन।

अँध्यारो रात पश्चात् उज्यालो दिन अवश्य आउँछ त्यसैले पनि संघर्ष संग बिचलित हुनुहुन्न। आज दुख गरे त्यसको नतिजा भोलि अवश्य राम्रो मिल्ने छ । हुनत मैले त्यो स्थान हासिल गरिसकेको छैन जुन मेरो गन्तव्य हो तर त्यसको प्राप्तिको लागि आफुलाई तयार बनाउने अवसर भने अवश्य दिलाएको छ मेरो संघर्षरत यात्राले उनी भन्छन । जिवनमा आइपर्ने हरेक कठिन घटना परिघटना हरु संग सकारात्मक अवसर पनि अवश्य जोडिएर आएको हुन्छन। पारिवारिक सहयोग थिएन अनि मैले एक्लै संघर्ष गरेँ तब मात्रै मैले आफुलाई कठोर र पोख्त बनाउने अवसर पाएँ।

उनका कैयौं गितहरु परिवर्तनशिल तथा मौलीक र प्रगतिशील छन। आजपनी रेडियोमा उनका गित स्वदेशगानको रुपमा बज्न सफल छन। देश प्रतिको आस्था र संस्कृतिक झुकावको कारण उनले उरन्ठेउला गित हरु गाएर हिट बन्न चाहेनन । उनले भने, म भन्दा जुनिएर कलाकारहरु पनि धेरै हिट भएका छन र आफ्नो बजार बनाएका छन तर मैले भने उनीहरुको जस्तो गाउन चाहिन । नारिको अपमान गर्ने गित हरु बजारमा पठाउन चाहिन अनि सांस्कृतिक सौन्दर्यमा कालो पोत्न चाहिन, गौरव र स्वाभिमानको उचाईलाई बढाउन चाहेँ त्यसैले मेरो गन्तव्य प्राप्तिको यात्रा थप चुनौतीपूर्ण भएको छ। मर्यादा र आदर्शको मार्ग कठिन अवश्य छ तर यसले न कहिल्यै हानी गर्छ न यो अल्पकालीन हुन्छ ।

यदि चाहाना र आत्मविश्वास छ भने असम्भव भन्ने कुनै तत्व छैन। रुख रोपियो र त्यसलाई निरन्तरता पुर्वक स्याहारियो भने फल अवश्य दिन्छ तर ढिलो चाँडोको कुरा आफ्नो ठाउँमा छ। आफ्नो सपनाको हाँगा समात्न सकियो भने टुप्पोमा पुग्न सकिन्छ तर कतिपटक लडिन्छ त्यसको ग्यारेन्टी भने हुन्न । जो व्यक्ती लड्दा फेरि प्रयत्न गर्ने छैन उ सपनाको टुप्पोमा परिणामको फल टिप्न कहिल्यै पुग्ने छैन तर जतिसुकै पटक लडेपनी पुनः सपनाको हाँगामा टेक्ने समाउने र चढ्ने प्रक्रिया छोडेन भने उसको लागि कुनै संका छैन। परिणाम दुबै आउन सक्छ। या त उ सफलता पुर्वक गन्तव्य सम्म पुग्छ या त उ खसेर मर्छ। प्रतिबद्धता हुनुपर्छ आफै सङ्ग अनि आफ्नै सपना सङ्ग। जित सम्भव छ।

पारिवारिक दाउपेचको कारण उनी जागिरे जिवनमा फर्किए पनि आफ्नो सांगीतिक यात्राका कदम हरु बढाईरहने र गन्तव्यको उच्च परिणाम सम्म पुग्ने उनको प्रतिबद्धता छ। आफैमा संघर्ष र दुखका कथा लुकाएर बसेका उनी युवा पिढी, अशक्त असहाय, स्वप्नदर्शी तथा सृजनशिल सबैको निम्ति अपुर्ब प्रेरणाका भण्डार हुन। मर्यादित रचना र मानविय मान्यताका उदाहरण हुन। उनको यात्रा सफल रहोस। सपना यथार्थमा परिणत होउन अनि देशले नयाँ पृथक सृजना पावस। जनमानसमा उनी प्रतिको सकारात्मक प्रेम भाव वृद्धि भैरहोस। हाम्रो शुभकामना !