रुसको कोरोना खोप एन्टिबडी बनाउन सक्षम

काठमाडौं, रुसले विकास गरेको कोरोना भाइरसको खोप ‘स्पुतनिक भी’ शुरुवाती चरणको परीक्षणमा सुरक्षित र प्रभावकारी देखिएको छ ।शुक्रबार सार्वजनिक गरिएको परिणाममा बयानमा त्यो खोप लगाएको ४२ दिनसम्म पनि कुनै नकारात्मक प्रभाव नदेखिएको बताइएको छ । खोपले २१ दिनभित्र एन्टिबडी बनाउन सक्षम रहेको पाइएको हो ।

यो जानकारी मेडिकल जर्नल ‘ल्यान्सेट’ मा प्रकाशित एक अध्ययनमा दिइएको हो ।तर विशेषज्ञहरुले भने खोप सुरक्षित र प्रभावशाली भएको साबित गर्न निकै कम संख्यामा खोपको परीक्षण गरिएको बताएका छन् ।रुसले गएको महिना कोरोना भाइरसको खोप विकसित गर्ने घोषणा गरेको थियो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले पहिलो खोप बनाएको घोषणा गर्दै आफ्नो छोरीले पनि त्यो खोप लगाएको बताएका थिए ।रुसको यो खोपलाई लिएर पश्चिमी देशका वैज्ञानिकहरुले खोप सुरक्षित रहेकोमा आशं व्यक्त गर्दै आइरहेका छन् । उनीहरुले खोपलाई लिएर यति चाँडै अघि बढ्नु खतरनाक हुने बताएका थिए ।

ल्यान्सेटको अध्ययनअनुसार रुसी शोधकर्ताहरुले दुई छोटो परीक्षण गरेका थिए, प्रत्येक परीक्षणमा १६ देखि ६० वर्षका ३८ स्वस्थ व्यक्तिलाई सहभागी गराइएको थियो । उनीहरुलाई दुई हिस्सामा खोप दिइएको थियो ।प्रत्येक सहभागीलाई पहिलो हिस्सामा खोपको एक खेप दिइएको थियो र त्यसको २१ दिनपछि दोस्रो खेप दिइएको थियो ।

उनीहरुमाथि ४२ दिनसम्म निगरानी गरिएको थियो । तीन हप्तामै उनीहरुको शरीरमा एन्टिबडी विकसित भएको थियो ।