अल्का अस्पतालकी महिला कर्मचारीको हत्या, लेलेको जंगलमा भेटियो शव
ललितपुर, ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत सरसफाई कर्मचारी मृत अवस्थामा फेला परेकी छन्। तीन दिनदेखि हराइरहेकी ३९ वर्षीय गीता केसीको शव शुक्रबार साँझ ललितपुरको लेलेस्थित जंगलमा फेला परेको हो।
भैंसेपाटी बस्दै आएकी केसी सम्पर्कबिहीन भएपछि तिन दिनअघि परिवारले महानगरीय प्रहरी परिसर ललितपुरमा सूचना दिएका थिए । गीताको हत्या भएको आशंका गरिएको छ ।
हत्या आशंकामा केसीको घर रहेको भैंसीपाटीबाट उनकै भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।
केसीको परिवारले उनी हराएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको थियो । प्रहरीले खोजतलास गरिरहेकै बेला शुक्रबार साँझ मुख्य सडकबाट दुई सय मिटरभित्र लेलेको जङ्गलमा महिलाको शव भेटिएको थियो ।
शनिबार बिहान उक्त शव केसीको भएको पुष्टि भएको महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी कृष्णराज ओझाले जानकारी दिएका छन् । प्रारम्भिक अनुसन्धानबाट गीताको घाँटी थिचेर हत्या भएको अनुमान गरिएको छ ।
हाल शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी भइरहेको छ । केसीको शरीरमा अन्य चोटपटक देखिएको छैन । यद्यपि, पोष्टमार्टमपछि विस्तृत जानकारी आउने प्रहरीको भनाइ छ ।
ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङले हत्याको कारणबारे अनुसन्धान भइरहेको बताउँदै ज्यानसम्बन्धी कसुरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गरिने बताए ।