१९ वर्षीया एक युवतीलाई सामुहिक बलात्कार

काठमाडौं,काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिरहेकै अवस्थामा पनि एक १९ वर्षीया युवतीलाई सामुहिक बलात्कार भएको छ ।

चन्द्रागिरी नगरपालिका–१ दहचोकमा १९ वर्षीया युवतीलाई सामुहिक बलात्कार भएको हो । बलात्कार आरोपमा महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले मुगु घर भई चन्द्रागिरी बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर शाहीलाई बिहीबार साँझ पक्राउ गरेको छ ।

युवतीलाई सामुहिक बलात्कार भएको सूचनाका आधारमा प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । पक्राउ परेकाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान तथा कारबाही हुने वृत्तले जनाएको छ ।