केन्द्रीय कारागारमा तीन कोरोना संक्रमित कैदीको मृत्यु
काठमाडौं, केन्द्रीय कारागार सुन्धारामा तीन जना काेराेना संक्रमित कैदीको मृत्यु भएको छ। उनीहरुमा मृत्युपछि कोरोना पुष्टि भएको हो। उनीहरु तीनै जनाको भदौ १६ गते वीर अस्पतालमा मृत्यु भएको थियो।
पाल्पाका ५८ वर्षीय पुरुष, बझाङका ६० वर्षीय पुरुष र सिरहाका ६४ वर्षीय पुरुषको गत १६ गते मृत्यु भएको हो । उनीहरुमा कोरोनाको संक्रमण रहेको बिहीबार राति पुष्टि भएको केन्द्रीय कारागार कार्यालयका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए।
जेलर बाँस्कोटाका अनुसार उनीहरु दिर्घ रोगीसमेत थिए । यसअघि मेघा अस्पतालमा पनि केन्द्रीय कारागारकै एक कैदीको मृत्यु भएको थियो । कञ्चनपुरका ४१ वर्षीय कैदीको भदौ १६ गते नै मृत्यु भएको थियो ।
हालसम्म केन्द्रीय कारागारमा ५९ जना कैदीबन्दी संक्रमित भएको जेलर बाँस्कोटाकाले जानकारी दिए । उनका अनुसार अहिलेसम्म २१० जनाको मात्रै पिसीआर टेष्ट गरिएको छ ।