उपाध्यक्ष गौतमलाई राट्रियसभामा लैजाने नेकपाको निर्णय

काठमाडौं, नेपाल कम्यूनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई पार्टी निर्णयअनुरूप राष्ट्रिय सभाको सदस्यमा सिफारिस गर्ने बैठकलाई जानकारी गराएका थिए ।बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा गौतमलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बैठकलाई जानकारी गराएको बताए ।

यसअघि अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभामा लैजाने कि गौतमलाई भन्नेमा पार्टीभित्र अन्योलता देखिएको थियो । प्रधानमन्त्री ओली खतिवडालाई नै निरन्तरता दिने पक्षमा रहेपनि अर्का अध्यक्ष प्रचण्डलगायतले गौतमलाई निरन्तरता दिनुपर्ने बताएका थिए । गौतमले पनि अहिले प्रतिनिधिसभा सदस्य बन्न अनुकल अवस्था नरहेकाले आफू राष्ट्रियसभामा जान तयार रहेको केहिदिन अघि बताएका थिए । गत फागुन १४ गतेको नेकपा सचिवालय बैठकले पनि उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न पार्टीको तर्फबाट निर्णय गरेको थियो ।

सोही महिनाको २० गते खतिवडाको रष्ट्रियसभाको कार्यकाल सकिने भएपछि उनको ठाउँमा गौतमलाई पठाउने गरी सचिवालयले निर्णय गरेको थियो । तर प्रधानमन्त्री केपी ओली सो निर्णयलाई अवज्ञा गरेका थिए भने पार्टीभित्र यही विषयमा विवादसमेत चर्किएको थियो । यो संगै अर्थमन्त्री यूवराज खतिवडाको यही २० गते कार्यकाल सकिदै छ । यस्तै बैठकले कार्यदलको प्रतिवेदनबारे पनि बैठकमा छलफल भइ ठोस कार्ययोजना बनाई सचिवालय र स्थायी कमिटीमा प्रस्ताव प्रस्तुत गरिने निर्णय भएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।