बालुवाटारमा नेकपा सचिवालय बैठक शुरु

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक आज (बिहीबार) दिउँसो ३ बजेका लागि सारिएको थियो । अर्थमन्त्री युवराज खतिवडाको निरन्तरता तथा राष्ट्रिय सभामा मनोनयनलगायतका महत्वपूर्ण विषयमा शीर्ष नेतृत्वबीच थप छलफल आवश्यक भएको भन्दै आजका लागि बैठक बोलाइएको हो ।

सचिवालय वैठकअघि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ । रिक्त राष्टिय सभा सदस्यमा युवराज खतिवडा र उपाध्यक्ष वामदेव गौतममध्ये कसलाई लैजाने भन्नेबारेमा एकमत तयार गर्न दुई अध्यक्षबीच छलफल भएको भए पनि कुनै सहमति निस्किनसकेको स्रोतले जानकारी दिएको छ । दुई अध्यक्षबीच कुनै सहमति नभएकै अवस्थामा सचिवालय वैठक शुरु भएको हो ।

बुधबार साँझ पनि सचिवालय बैठकको एजेण्डामाथि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको थियो । बैठकमा राष्ट्रिय सभामा रिक्त पदमा मनोनयन गर्नेबारेमा सचिवालय बैठकमै छलफल गरेर निष्कर्षमा पुग्ने अध्यक्षद्वबीच सहमति भएको छ ।

राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यका लागि अर्थमन्त्री डा. खतिवडा वा उपाध्यक्ष वामदेव गौतम को हुने भन्नेबारे दुई अध्यक्षबीच कुरा मिल्न बाँकी रहेकाले बैठक सारिएको हो । प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाहालबीचको बुधबारको छलफलअगाडि बालुवाटारमै दुवै नेताले आकांक्षीमध्येका एक अर्थमन्त्री खतिवडासँग पनि अलग्गै छलफल गरेका थिए ।

ओलीले युवराजलाई निरन्तरता दिन चाहे पनि अर्का अध्यक्ष प्रचण्डलगायत पार्टीका वरिष्ठ नेताहरू त्यसमा सहमत हुन सकेका छैनन् । युवराजले खासै परफरमेन्स देखाउन नसकेको भन्दै पार्टीभित्रैबाट अर्थमन्त्री परिवर्तन गर्नुपर्ने माग र दबाब पहिलेदेखि नै छ । डा. खतिवडाको ‘काउण्ट डाउन’ शुरु भइसकेको छ । अब खतिवडाको सरकारमा बस्ने समयावधि ७२ घण्टा मात्र बाँकी रहेको छ ।

सरकारले भदौ २० भित्र राष्ट्रियसभामा रिक्त रहेको एक पदमा मनोनित गर्नुपर्ने अवस्था छ । संविधानको धारा ७८ को उपधारा १ बमोजिम खतिवडा गैह्र सांसदका रुपमा मन्त्री बनेका थिए । संघीय संसदको सदस्य नरही पनि ६ महिनासम्म मन्त्री हुन पाइने प्रावधान अनुरुप खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिइएको थियो । सोही समयदेखि उक्त पद खाली रहेको छ ।

भदौ २० गतेपछि अर्थमन्त्रीकै रुपमा निरन्तरता पाउन उनलाई राष्ट्रियसभाको सांसदमा पुनः नियुक्ति गर्नुपर्ने हुन्छ। तर त्यो पदमा उपाध्यक्ष वामदेवलाई पठाउने निर्णय पहिले नै भइसकेको छ र गौतम स्वयम पनि राष्ट्रियसभामा जान इच्छुक देखिएका छन् ।

यस अगाडि फागुन १४ गते नेकपा सचिवालयले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन मन्त्रीपरिषदमार्फत राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । तर निर्णय कार्यान्वयन नहुँदा नेकपामा विवाद उत्पन्न भएको थियो ।

युवराजको निरन्तरतामा संवैधानिक जटिलतासमेत देखिएको छ । संघीय संसद् अर्थात प्रतिनिधिसभा वा राष्ट्रियसभाको एक कार्यकालमा एउटै व्यक्ति दुई पटक संसद सदस्य हुन पाउने व्यवस्था संविधानमा कहींकतै नरहेको भन्दै कानुनविद्ले प्रश्न उठाएका छन् ।

पार्टीको विवाद समाधानका लागि महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलले बुझाएको प्रतिवेदन लगायतका विषयमा छलफल गर्ने तयारीसहित यस अघि भदौ १३ बैठक बोलाइएको थियो ।

तर सीसीएमसीका संयोजक समेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल ’आइसोलेसनमा बस्नुपर्ने भएपछि बिहीबारसम्म बैठक स्थगित गरिएको थियो ।

साउन ३० गते पार्टी एकतामा देखिएको विवादको समाधानका लागि महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । पौडेल संयोजक रहेको कार्यदलमा जनार्दन शर्मा, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए । कार्यदलले यही भदौ ६ गते दुवै अध्यक्षलाई प्रतिवेदन बुझाइसकेको छ ।