सेक्युरिटी प्रेस खरिद प्रकरणः मिश्रलाई उपस्थित हुन अख्तियारको ७ दिने अल्टिमेटम
काठमाडौँ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रलाई एक साताभित्र आयोगमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ ।आयोगले बुधबार एक राष्ट्रिय दैनिक पत्रिकामा सूचना निकाल्दै सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिशन मोलमोलाई गरेको भन्नेबारे केही कुरा बुझ्नु पर्ने भन्दै ७ दिनभित्र उपस्थित हुन मिश्रलाई सूचना निकालेको हो । एक दिनअघि मात्रै मिश्रले विज्ञप्ति जारी गरेर आफूले अख्तियारलाई अनुसन्धानमा सहयोग गर्ने बताएका थिए ।
अडियो रेकर्ड गर्ने उपकरण जापानमा रहेकाले त्यही लिन आफू जापान आएको भन्दै उनले लकडाउनका कारण फर्किन नपाएको समेत विज्ञाप्ती मार्फत जानकारी गराएका थिए ।तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग सेक्युरिटी प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँको मोलमोलाईको अडियो सार्वजनिक भएपछि मिश्र समेत विवादमा तानिएका थिए । घटनापछि बास्कोटाले राजीनामा दिएका छन् । मिश्र भने हाल जापान पुगेका छन् ।
अख्तियारमा छानबिन भइरहेको यो अनुसन्धान अघि बढ्न मिश्रले अडियो टेपको सनाखत गर्नुपर्ने कानुनी बाध्यता रहन्छ । अख्तियारको एनलाई हेर्ने हो भने,अनुसन्धान अधिकृतले तयार पारेको रायमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १९ ९१२० अनुसार निर्णय गर्नुपर्ने उल्लेख छ । जसमा ‘संकलित प्रमाणबाट आरोप प्रमाणित हुन नसक्ने भएमा आयोगले उजुरीलाई कारणसहितको पर्चा खडा गरी तामेलीमा राख्न सक्नेछ’ भन्ने व्यवस्था छ । बाँस्कोटाको अडियो प्रकरणमा पनि उनलाई मुद्दा चलाउने गरी प्रमाण नभेटिएको निष्कर्षमा अख्तियार पुगेको स्रोतले जानकारी दिएको छ ।