रंग बदलिएको त्यो क्वारेन्टाइन !

दाङ,  गढवा क्वारेन्टाइनको तीन स्थानमा हातधुने बेसिङ तयार गरिएको छ । सोही प्रागंणभित्र तीन वटा पानीका ड्रमहरु राखिएको छ । स्नानगृह र चर्पीको मर्मत गरी शोभायमान बनाइएको छ । ठाउँ(ठाउँमा खानेपानीका धारा र सबै धाराहरुमा प्रयाप्त पानी आउँछ । खानेपानीको लागि २५० लिटर क्षमताको पञ्चकन्याको टैंकीमा अत्याधुनिक फिल्टर जडान गरिपछि खानेपानीको कुनै पनि समस्या छैन । पहिलेको जीर्ण र पुरानो भवन रंगरोगन गरेर चिटिक्क पारिएको छ । खानेपानी र स्वच्छता तथा सरसफाईमा बिशेष ध्यान पुगेको पाइएको छ । वालमैत्री धाराहरु समेत भएको यो क्वारेन्टाइनमा बिभिन्न स्थानमा सेनेटाइजरको स्टेसन समेत बनाइएको छ ।

 

हेर्दै लोभलाग्दो दृष्यको यो क्वारेण्टाइन गढवा गाउँपालिका वडा नं। ३ स्थित गोबरडिहामा संञ्चालित छ । देउखुरीको गढवा गाउँपालिकाले पछिल्लो चरणमा भारत लगायत तेश्रो मुलुकबाट स्वदेश भित्रिने नागरिकहरुका लागि संञ्चालन गरेको गोबरडिहाको क्वारेन्टाइनको रंग र ढंग सबै बदलिएको छ । युनिसेफ नेपाल र नेपाल रेडक्रस सोसाइटी दाङको ध्यान सो क्वारेन्टाइनमा पुगेपछि गाउँपालिकासंगको समन्वय र सहकार्यमा रंगमात्र हैन ढंग समेत बदलिएको पाइएको छ ।

सो क्वारेन्टाइनलाई रंग मात्र हैन ढंगमा समेत परिवर्तन गर्न सकिएको छ, हामीले पहल गर्यौ र गढवा गाउँपालिकाले जिम्वेवारी दियो– रेडक्रसका कोभिड १९ नियन्त्रण रोकथाम र प्रतिकार्यका फोकल पर्सन मोहनकुमार पाण्डेयले भने । क्वारेन्टाइनमा बस्ने नागरिकहरुको जीवनयापनका लागि सहजता ल्याउन युनिसेफ नेपाल र नेपाल रेडक्रस सोसाइटी दाङको साझेदारीमा स्वच्छता सामाग्रीहरुको झोलाहरु हस्तान्तरण गरिएको कार्यक्रमका अधिकृत बिश्राम अधिकारीले बताए । पछिल्लो चरणमा गाउँपालिकासंग सहकार्य गरी यो क्वारेन्टाइन संञ्चालन गर्न रेडक्रसले भूमिका खेलेको इन्कोर कार्यक्रमका अधिकृत देवी प्याकुरेलले जानकारी दिए ।

यसैबीच युनिसेफ नेपाल र नेपाल रेडक्रस सोसाइटीको टोलीले आइतबार सो क्वारेन्टाइनमा स्थलगत अनुगमन तथा निरिक्षण गरेको छ । गढवा उपशाखाका सभापति दिपककुमार यादवले क्वारेन्टाइनमा बस्ने नागरिकहरुका लागि युनिसेफ नेपालले उपलब्ध गराएको नाइलनको डोरी, काइयोहरु, टुथपेष्ट, टाबेल, नङकटर, ब्रस, साबुनदानी, रुमाल, लुगाधुने र नुहाउने साबुन, सेनेटरी, प्याड, अण्डरवियर तथा पेन्टी सहितको झोला १० जनालाई हस्तान्तरण गरेका छन् । यसअघि पनि जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यालय, रेडक्रसकर्मी र नागरिक समाजद्धारा सो क्वारेन्टाइन ब्यवस्थापनका लागि स्थलगत अबलोकन गरिएको टोलीले जनाएको छ ।

बिपद रोकथाम र प्रतिकार्य योजनाबारे समन्वय बैठक

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङ र युनिसेफ नेपालको साझेदारीमा संञ्चालित नवजागरण महिला तथा वाल संरक्षण केन्द्र दाङले गढवामा एक कार्यक्रमको आयोजना गरी कोभिड ज्ञढ को बिपद् नियन्त्रण तथा रोकथाम र प्रतिकार्यका लागि बनाएका योजनाहरुबारे आइतबार सम्पन्न समन्वय बैठकमा गम्भिर छलफल गरिएको छ । कार्यक्रममा नेपाल रेडक्रस र युनिसेफ नेपालको साझेदारीमा गढवा गाउँपालिकासंगको समन्वय सहकार्यमा गाउँपालिकाका बिभिन्न वडा तथा क्षेत्रहरुमा गरिने बार्षिक कृयाकलापहरुका बारेमा जानकारी गराइएको थियो ।

गढवा गाउँपालिकाका बिभिन्न बिषयगत शाखाका प्रमुखहरु, जनप्रतिनिधी, गैरसरकारी संघसंस्थाका प्रतिनिधी, नागरिक समाज र पत्रकारका बीच गरिएको छलफलमा कोभिड ज्ञढ रोकथाम, नियन्त्रण र प्रतिकार्य तथा बाढीको विपद् प्रतिकार्यका लागि स्थानीय सरकार र सरोकारवालाहरुले बार्षिक योजना बनाएर कार्यान्वयन गर्न रेडक्रसको तर्फबाट प्राबिधिक सपोर्ट रहने जानकारी गराइएको हो ।

जसअन्तर्गत गढवा गाउँपालिका क्षेत्रभित्र ५४ जना ब्यक्तिहरुलाई खोज तथा उद्धार, प्राथमिक उपचार र प्रारम्भिक द्रुत लेखाजोखामा क्षमता अभिबृद्धि गर्ने, आपतकालिन कोषको तयारी गर्ने, पालिका स्तरमा पूर्व सुचना ब्यवस्थापनको समन्वय समिति गठन गर्ने, बाल क्लबहरुलाई कोभिड १९ बिपद रोकथाम र बाढी पूर्व तयारी नियन्त्रणका बिषयमा प्रशिक्षण दिने, सुरक्षित आवास तथा सेल्टर निर्माण लगायतका अभ्यासहरु गराइने,प्रभावित समुदाय स्तरमा खोज तथा उद्धारका अभ्यास गराइने, खानेपानी तथा स्वच्छता कार्यक्रम संञ्चालन र योजना निर्माणमा सहयोग गर्ने, शब ब्यवस्थापन, वास योजना, टास्कटिम गठन गर्ने तथा खाद्यान्न र पोषणका गतिविधिमा सहयोग गर्ने कार्यक्रमहरु रहेको कार्यक्रममा जानकारी गराइएको छ । यी सबै कार्यहरु गढवा गाउँपालिकासंग समन्वय र सहकार्य गरी गर्ने स्थानीय सरकारको योजना तर्जुमा तथा बिपद ब्यवस्थापन समितिसंग छलफल गरी योजनाहरु बनाउने र उक्त योजनाहरु गाउँपालिकालाई कार्यान्वयनका लागि हस्तान्तरण गर्ने जानकारी गराइएको हो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङ र युनिसेफ नेपालद्धारा संचालित कार्यक्रम अधिकृत बिश्राम अधिकारी र नवजागरण महिला तथा बाल संरक्षण केन्द्र दाङका कार्यक्रम अधिकृत उमेश खरेलले कार्यक्रमका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा पशुसेवा शाखाका अनन्तराज रेग्मी, गैरसरकारी संस्था महासंघका जिल्ला उपाध्यक्ष उमाकान्त पन्त र रेडक्रम उपशाखा गढवाका सभापति दिपककुमार यादवले आ–आफ्ना धारणा राखेका थिए