केन्द्रीय कारागारमा कोरोना : ५० कैदीबन्दी र ५६ प्रहरीमा संक्रमण

काठमाडाैं, केन्द्रीय कारागार सुन्धारामा कोरोना संक्रमण फैलिएको छ ।  क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेको केन्द्रीय कारागार सुन्धारामा कोरोना संक्रमण फैलिएको हाे ।

आइतबार एकैपटक थप ३५ जना कैदीबन्दी र ५१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि कैदीबन्दीको परीक्षण गरिएको थियो ।

यसअघि १५ जना कैैदीबन्दीमा कोरोना पुष्टि भएको थियो । योसँगै केन्द्रीय कारागारमा संक्रमित कैदीबन्दीको संख्या ५० पुगेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

त्यस्तै, कारागारको सुरक्षामा खटिएका ५६ जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको छ । आइतबार ५१ र त्यसअघि ५ जनामा संक्रमण पुष्टि भएको हो । प्रहरीबाट नै जेलभित्र संक्रमण फैलिएको आशंका गरिएको छ ।

कारागारको महिला सेलमा गत साता एकैपटक सयजनाभन्दा बढीमा कोरोनासँग मिल्दो लक्षण देखिएको थियो । त्यसपछि परीक्षण गर्दा पाँचजनामा संक्रमण पुष्टि भएको हो ।

केन्द्रीय कारागारमा तीन हजार एक सय कैदीबन्दी छन् । सोमबारसम्म दुई सय ५० जनाको मात्र परीक्षाण भएको छ । धेरैमा संक्रमण देखिएपछि अन्यमा पनि त्रास बढेको छ । केन्द्रीय कारागारमा दीर्घरोग भएका कैदीबन्दीको संख्या पनि धेरै छ । थप कैदीबन्दीको परीक्षण गराउने कारागार कार्यालयको तयारी छ ।

विभागका अनुसार हालसम्म शंका लागेका देशभरका ८ सय ७९ जना (कैदीबन्दी, कर्मचारी र सुरक्षाकर्मी)को पीसीआर परीक्षण गरिएको छ । जसमा ५ सय ९४ कैदीबन्दी, २ सय ७ जना सुरक्षाकर्मी र ७८ जना कर्मचारी छन् ।

परीक्षणपछि १ सय ६६ जनामा संक्रमण देखिएको छ। त्यसमध्ये ७२ जना उपचारपछि संक्रमणमुक्त भइसकेका र अन्यको उपचार भइरहेको विभागले जनाएको छ ।