नेकपाका नेता शोभाखर चापागाईको कोरोना सङ्क्रमणबाट मृत्यु

चितवन, नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता शोभाखर चापागाईको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।उनी श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए ।

उचारका क्रममा आज विहान उनकोे निधन भएको अस्पतालले जनाएको छ ।भरतपुर महानगरपालिका वडा नं ६ केदरबाग निवासी बर्ष ८७का उनीमा भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

उनी ज्येष्ठ कम्युनिष्ट मञ्च चितवनको सदस्य थिए । कम्युनिष्ट नेता एवं उनका समकालीन विष्णु घिमिरेका अनुसार चापागाई विसं २०२५ मा गठित ननसेन्टरबाट राजनीतिमा आबद्ध भएका हुन् ।

को हुन शोभाखर चापागाई

नेता चापागाई विसं १९९९ असार १९ गते स्याङ्जाको रामकोटमा जन्मिएका हुन् । उनी विसं २०२४ मा बसाइँसराइ गरी चितवन झरेका थिए । भतिज शिव चापागाईका अनुसार चापागाईका १०२ वर्षका आमा, श्रीमती, पाँच छोरी, एक छोरा र नातिनातिना रहेका छन् । चापागाईको असामयिक निधनपछि नेकपा चितवनले गहिरो दुःख प्रकट गरेको छ ।

चापागाईको राजनीतिसँगै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान रहेको छ । उनकै नेतृत्वमा स्थानीय अन्नपूर्ण दुग्ध उत्पादक सहकारी स्थापना भई हाल नेपालकै उत्कृष्ट सहकारीका रुपमा रहेको छ ।