साेमबार थपिए ८९९ जना कोरोना संक्रमित, ५८८ डिस्चार्ज

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ३०३ जना महिला र ५९६ पुरुष छन्। यो सहित नेपालमा कोरोनासंक्रमित को कुल संख्या ३९ हजार २३२ पुगेको छ।

हाल सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ छ। जसमध्ये संस्थागत आइसोलेसन १० हजार ७०१ जना र होम आइसोलेसनमा ७ हजार १२१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ११ हजार १२९ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। नेपालमा हालसम्म ६ लाख ७३ हजार ४७२ जनाको पीसीआर नमुना परीक्षण भएको छ।

हाल विभिन्न ठाउँमा रहेका क्वारेन्टिनमा ७ हजार ३३७ जना बसिरहेका छन्। पछिल्लो २४ घण्टामा ५८८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या २१ हजार ४१० जना छ।