पुजारी हत्याको आरोपमा दुई जना पक्राउ

रौतहट, रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम शाहको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका–१ घर भएका रामनरेश पटेल र सोही ठाउँका बालकुमार पटेल छन् । उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा भारत बिहारको पूर्वी चम्पारण मोतिहारी ढाकाथाना क्षेत्रबाट पक्राउ गरिएको हो । हालसम्म पक्राउ परेकाहरुले आरोप स्वीकार गरिसकेका छैनन् । माधव नारायण नगरपालिका–३ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी शाहको साउन ३ मा अज्ञात समूहले कञ्चटमा गोली हानी हत्या गरेको थियो । उनले आफ्नै पैसा लगानी गरेर मन्दिर बनाएका थिए ।

मन्दिर परिसरमा अज्ञात ब्यक्तिले गोली हानेर हत्या गरेका पुजारीको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन हिन्दुबादी संगठनले दवाव दिएका थिए । हत्या संलग्न रहेको आरोप लागेका देवाही गोनाही नगरपालिका–१ का वडा अध्यक्ष नुरुलाह मियाँ, सोही ठाउँका राजेन्द्र पटेल, कहिल पटेल र राम प्रवेश पटेल फरार छन् ।