नेपालमा पहिलोपल्ट कोरोनाबाट स्वाथ्यकर्मीको मृत्यु

काठमाडौं,  नेपालमा पहिलोपल्ट कोरोना भाइरस संक्रमणबाट स्वास्थ्यकर्मीको ज्यान गएको छ । महोत्तरीको मनरा सिसवा–४ का ३७ वर्षीय हेल्थ असिस्टेन्टको उपचारका लागि काठमाडौं ल्याउने क्रममा भदौ १० गते बाटैमा मृत्यु भएको हो ।

 मृत्यु भइसकेपछि उनलाई ललितपुरस्थित बयोधा अस्पताल लगिएको थियो । अस्पतालले कोरोना परीक्षणका लागि उनको स्वाब एक निजी क्लिनिकमा पठाएकोमा कोरोना पोजेटिभ देखिएको बयोधा अस्पतालले जनाएको छ ।

मृतक स्वास्थ्यकर्मीको श्रीमतीमा पनि कोरोना संक्रमण देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ । श्रीमतीको बयोधा अस्पतालमा उपचार भइरहेको छ । मृतक स्वास्थ्यकर्मीको त्यही दिन नै अन्त्येष्टि गरिएको थियो । अस्पतालमा मृतक स्वास्थ्यकर्मीको स्वाब संकलन गरेपछि सोही दिन शव महोत्तरी पठाइएको थियो ।

प्रदेश–२ क्षेत्रीय स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रकुमार झाले संक्रमित स्वास्थ्यकर्मीेको मृत्यु भएको पुष्टि गरेका छन् । ‘उहाँ एक निजी स्वास्थ्य संस्थामा हेल्थ असिस्टेन्टको रुपमा प्राक्टिस गर्नु हुन्थ्यो र औषधि व्यवसाय पनि गर्नु हुन्थ्यो,’ उनले थपे, ‘उहाँमा स्वास्थ्य समस्या भएपछि उपचारका लागि काठमाडौं लगिएको थियो ।’