गुर्भाकोटमा बन्ने भयो सशस्त्रको कर्णाली प्रदेशस्तरीय तालिम केन्द्र

सुर्खेत, सुर्खेतको गुर्भाकोटमा सशस्त्रको कर्णाली प्रदेशस्तरीय तालिम केन्द्र बन्ने भएको छ । तालिम केन्द्रका लागि गुर्भाकोट नगरपालिका भालेदमारमा बन्ने भएको हो ।

आईतवार कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, प्रदेश सांसद ठम्मर विष्ट र सशस्त्रका डिआईजी हरिशचन्द्र अधिकारीले गुर्भाकोटमा स्थलगत अनुगमन एवं निरीक्षण गरेका हुन । तालिम केन्द्रका लागि वडा नम्बर १० र ११ को भालेदमार भन्ने ठाउँमा सशस्त्र प्रहरीको कर्णाली प्रदेशस्तरीय तालिम केन्द्र निर्माणका लागि जग्गाको अवलोकन गरिएको छ । 

प्रदेश सांसद विष्टले चालु आर्थिक वर्षदेखि तालिम केन्द्र निर्माणको प्रक्रिया शुरु गर्ने गरी जग्गाको व्यवस्थापन गर्ने काम भइरहेको जानकारी दिए ।  बिष्टका अनुसार सोही प्रक्रिया अन्तरगर्त जग्गा अवलोकन गरिएको छ ।  सोही क्षेत्रका सांसद समेत रहेका विष्टले भने,–‘प्राविधिकहरुले जग्गाको अध्ययन गरिरहेका छन् । यद्यपी यही ठाउँमा तालिम केन्द्र निमार्ण गर्ने निष्कर्षमा सबै पुगेका छौं । ’ठाेस  हुन भने  अझै बाँकी छ । 

तालिम केन्द्र निर्माण भए गुर्भाकोटको सबैभन्दा ठूलो मध्येको सरकारी कार्यालय रहनेछ । बिरेन्द्रनगरदेखि पूर्वमा पर्ने गुर्भाकोटमा विकास पूर्वाधारका गतिविधि बढ्दै गएका छन् । पूर्वाधार विकासकै क्रममा तालिम केन्द्र निर्माणले उत्साह थपेको स्थानीयबासीको भनाइ छ ।