सरकारले घटायो कोरोना परीक्षणको शुल्क

काठमाडौं, सरकारले कोरोना संक्रमण पत्ता लगाउने गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण रहे–नरहेको पत्ता लगाउन गरिने पीसीआरको शुल्क घटाएर अधिकतम ४ हजार ४ सय रुपैयाँ मात्रै लिन पाउने निर्णय गरेको छ ।

मन्त्रालयमा आइतबार मन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहित कोभिड–१९ रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले सो निर्णय गरेको हो । अब कुनै पनि संस्थाले सेवा शुल्कसहित ४ हजार ४ सय रुपैयाँ मात्रै लिन पाउने छन् । ‘सबै शुल्क जोडेर अधिकतम चार हजार ४ सय रुपैयाँ हो । त्यो भन्दा बढी एक रुपैयाँ पनि लिन पाइँदैन’ मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने ।

यसअघि मन्त्रालयले अनुमति प्राप्त गरेका प्रयोगशालाहरुले पीसीआर गर्दा अधिकतम ५ हजार ५ सय रुपैयाँ लिन पाउने र अनुमति नपाएका अस्पतालहरुले स्वाब संकलन गर्दा १० प्रतिशत थप सेवा शुल्क लिन पाउने व्यवस्था गरेको थियो । अन्तर्राष्ट्रिय बजारमै पीसीआरका लागि प्रयोग हुने रिएजेन्ट, आरएनए एक्सट्रयाक्टर तथा भीटीएम लगायतको मूल्यमा भारी गिरावट आए पनि सरकारले पीसीआरको मूल्य भने घटाएको थिएन । अब उनीहरुले ल्याव छैन भनी सरकारले तोकेको दरभन्दा १० प्रतिशत थप पनि लिन पाइने छैन ।

यसअघि केही अस्पतालले सरकारले तोकेभन्दा पनि बढी शुल्क लिएको पाइएको थियो । ग्राण्डी र क्यान्सर अस्पतालले ७ हजार ५ सय रुपैयाँ लिने गरेका थिए । यसअघि तोकेभन्दा बढी शुल्क लिने अस्पताललाई के कारबाही गर्ने भन्ने विषयमा भने आइतबार कुनै छलफल नभएको स्रोतले जानकारी दिएको छ ।