अपांगता हक अधिकारबारे क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

दाङ, देउखुरीको गढवामा अपांगता भएका ब्यक्ति तथा सरोकारवालाहरुलाई अपांगता समावेशी बिपद जोखिम न्यूनिकरण सम्बन्धी एकदिने क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र गढवाको आयोजना एवम् रिड नेपालको सहयोगमा नेपालमा अपांगता समाबेसी बिपद् जोखिम न्यूनिकरण प्रबर्धन परियोजना मार्फत कार्यक्रमको आयोजना गरिएको पुस्तकालयका अध्यक्ष गिरिराज भट्टले जानकारी दिएका छन् ।

अपांगता भएका नागरिकहरुले नेपाल सरकारबाट प्रदान गरिने हक अधिकार, सरकारद्धारा बनाइएका नियम कानूनहरु र उनीहरुको सेवा सुविधाका बारेमा कार्यक्रममा जानकारी गराइएको कार्यक्रमकी सामाजिक परिचालक मिना भट्टराइले जानकारी दिइन् । कोभिड १९ को महामारीको समयमा अपांगता भएका ब्यक्तिहरु जोखिमबाट कसरी बच्ने र के(कस्ता साबधानीहरु अपनाउने भन्ने बिषयमा प्रशिक्षकहरुले सहभागीहरुलाई जानकारी समेत गराएका थिए ।

सामाजिक दुरी कायम गरी आयोजना गरिएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको इन्कोर परियोजनाका फिल्ड अधिकृत देवि प्याकुरेल र रेडक्रसकर्मी मोहनकुमार पाण्डेय र स्थानेश्वर पौडेलले प्रशिक्षण दिएका थिए । पुस्तकालयका अध्यक्ष गिरीराज भट्टको अध्यक्षतामा सुरु गरिएको कार्यक्रममा नेपाल सामुदायिक पुस्तकालयका केन्द्रिय सदस्य चुडामणि पौडेल, पुस्तकालयका सचिव शिबराज पन्थी,फसदस्यहरु पटवारी यादव र नारायण पण्डित लगायतले अपांगता भएका ब्यक्तिहरुका हक अधिकारका बारेमा बोलेका थिए ।