प्रेरणा र बहादुरीका मिसायल रुपेश तामाङ : एक साहसिक योद्धाको घत लाग्दो कथा

प्रेरणाको त्यो कथा

हुने हार दैव नटार, यदि जिन्दगीमा केही हुनुनै छ भने त्यो भएर नै छोड्छ । चाहे त्यो राम्रो होस या नराम्रो । जिन्दगीको मोड जतिबेला जस्तो पनि आइदिन सक्छ चाहे हामिले चाहुँ या नचाहुँ । तर जिन्दगीमा संघर्ष त गर्नुनै पर्छ बाँच्नको लागि अनि बचाउनको लागि। आफ्नो लागि होस या अरुको लागि जब केही हासिल गर्नु या गराउनु छ भनेता सक्रिय हुनैपर्छ। आखिर आफ्नै सास पनि त बचाउनु छ। धड्कन पनि चलाउनै छ ।

वि सं २०४५ सालमा नुवाकोट जिल्लाको हालको पञ्चेश्वरी गाउँपालिकामा जन्मिएका एक साहसिक शशक्त योद्धा हुन रुपेश तामाङ। साधारण परिवारमा जन्मेका रुपेश परिवारको जेष्ठ सन्तान पनि हुन। जसले जिवनका प्रत्यक प्रतिकुल परिस्थिति र चुनौतीलाई मात दिदै सदैव आफ्नो सर्वोत्कृष्ट प्रदर्शन र सर्वोत्तम उपलब्धिको लागि अहोरात्र मेहनत गर्ने कर्मविर हुन। जन्मिदा सरल र स्वभविक स्वरुपमा जन्मिएका रुपेशलाई नेपालको जल्दोबल्दो जनयुद्धले उनको जिवनभरको निम्ति क्रन्दनको अग्नि सल्काएर गयो।

उनले भने, २०५८ साल तिरको कुरा थियो जतिबेला म बिद्यार्थी थिएँ। एकदिन जब तत्कालिन शाही नेपाली सेनाले अमर्यादित तवरले बिधालयमा प्रवेश गरेर शिक्षक तथा बिद्यार्थीहरुलाई कुटपिट गरेका थिए तब बाध्यताले म अखिल क्रान्तिकारी बिद्यार्थी संगठनमा आबद्ध भएँ । तत्पश्चात मेराे राजनितिकाे गाेरेटाे सुरू भयाे ।  अनि सक्रिय रुपमा जिम्मेवारी निर्वाह गर्दै गर्दा वि सं २०५९ असोज ११ गते शाही सेनाले लखेट्ने क्रममा लडेर खुट्टा गुमाउन पुगियो। उनले बिगतलाई सम्झिदै पुनः थपे, यद्यपि लडेको ठाउँबाट गाउँलेले भेट्टाएर घरसम्म नपुर्‍याएको भए सायद मरिन्थ्यो होला याे शरीर खरानी भैसकेकाे हुन्थ्याे ।

उनका अभिव्यक्तिले लाग्छ ती दिन उनका हृदयमा आज पनि काँडा बनेर घोचिरहेका छन। जिवनले दिनसम्म दियो सर तर भाग्य हो या कर्म बुझ्न सकिन, उनको भनाई थियो । रुपेश एक प्रतिनिधि पात्र हुन जसले जिन्दगीका प्रतिकुल चुनौतीहरुसंग सिंगोरी खेल्दै चुनौतीलाई नै आघात गरेर अगाडि बढेका छन।

अझ भनौं भने त उनी सभ्यताले विरासतमा पाएको तर पहिचान गर्न नसकेको अनुपम सौगात हुन। उनको जीवन कथाले केवल म होइन समग्र युवा पिढी मानव जातिलाई नै प्रेरित गर्दछ । अनि जसले शारीरिक कमजोरीका कारण आफुलाई हिनताको पर्दापछाडी राखेका छन । उनीहरु सबैका लागि प्रेरणा र मार्गदर्शक हुन रुपेश ।

आफ्नो कथा सुनाउने क्रममा उनले दुर्गम भौगोलिक स्थितिको प्रभाव र तत्कालीन द्वन्द्वले निम्त्याएको परिस्थिति सम्बन्धमा पनि स्पष्ट यथार्थता दिए । जतिबेला उनी दुर्घटनाले थलिएका थिए, त्यतिबेला आधुनिक उपचारको पहुँचबाट निकै टाढा रहे । बिकटता र तत्कालीन राजनीतिक अस्थिरता, आर्थिक अभाव, द्वन्द्व अनि उथलपुथलताको कारण घटना भएको करिब ६ महिनापछि मात्रै उपचारको पहुँचमा पुगेका थिए। जसको बाबजुद पनि दायाँ खुट्टा पुर्ण रुपमा गुमाउन पुगे । संभवत समयमै उपचार पाएकाे भए उनकाे खुट्टा गुम्दैनथ्याे कि ?

उनले केवल खुट्टा मात्रै गुमाएका थिएनन् जिन्दगी बोक्ने आधार गुमाएका थिए। जिवनको अभिन्न अंग गुमाएका थिए । अनि प्राकृतिक रथ गुमाएका थिए  । साथै ईश्वरको वरदान गुमाएका थिए । त्यतिबेला उनलाई आफ्नो जिन्दगीदेखि नैराष्यता अवश्य महसुस भएको थियो । तर उनी अनाडी थिएनन बरु जीवनको खेलमा बाजि मार्नैको निम्ति खेल्ने आत्मविश्वासी खेलाडी थिए । भाग्यले गरेको पक्षपाती नीति निर्णयका विरुद्ध धावा बोलेर जिवनको लडाई लड्ने साहसी योद्धा थिए।

जिन्दगी उबेला सजिलो कति पनि थिएन। सहानुभूति र प्रेम पनि सायद पर्याप्त पाइएन जति त्यस्तो परिस्थितिमा अपेक्षा गरिन्छ तर पनि निष्क्रिय बनिन किनकी जिन्दगी बाच्नु थियो अनि जेष्ठ सन्तानको जिम्मेवारी पनि पूरा गर्नु थियो उनले भनेका थिए। उनी परिस्थितिलाई धिक्कार्दै केवल पुर्पुरोमा हात राखेर बस्ने मान्छे थिएनन । उनी त सफल जिन्दगी र विजयको ताज पहिरिन गन्तव्यमा लम्किएका योद्धा थिए।

उनले संघर्ष गरे, उनि परिस्थितिसङ्ग लडिरहे अनि यात्रामा बढिरहे। जब खुट्टा गुम्यो तब उनी टुट्न त टुटे तर थप शशक्त पनि बने। भनिन्छ नि प्रत्यक चोटले फलामलाई झनै धारिलो पार्छ। जति पिटिन्छ फलाम उनिनै हतियारको स्वरुप लिन्छ। हो उनी पत्थर थिएनन जो प्रत्यक चोटले टुक्रीएर आफ्नो सार्थक स्वरुप गुमाउँछ अनि अस्तित्व गुमाउँछ।

उनी त फलाम थिए र पो प्रत्यक चोटले शशक्त हतियार बन्न सफल भए। उनले भने, जब मेरो खुट्टा गुम्यो तब मैले आफुलाई अनुकुल बनाउन हदैसम्मको अभ्यास गरेँ। बैसाखी टेकेर नै हरेक काम गर्थेँ। मेलापात मात्रै होइन अर्थोपार्जनका निम्ति श्रम र ठेक्का पट्ठासम्म पनि गर्थेँ र आजसम्म पनि गरिरहेकै छु।

के गर्नु व्यक्तिगत मात्रै नभएर पारिवारिक र सामाजिक जिम्मेवारी पनि त छ। उक्त भयंकर घटना पश्चात् पढाईलाई पनि निरंतरता दिएँ र २०६४ सालमा एसएलसि पनि दिएँ तर दुर्भाग्य गणित बिषयमा पास हुन सकिएन। २०६४ मै काठमाडौ छिरियो अनि गलैंचा बुन्ने काम गर्न थालेँ त्यो पनि हेरेको भरमा तालिम बिना नै। करिव दुई बर्ष त्यहाँ काम गरेको अनुभव छ।

जिन्दगीका उकाली ओरालिमा मैले धेरै अनुभवहरु बटुली सकेको छु। धेरै भोगाई भोगेको छु अनि धेरै घुम्ती पार गरेको छु । कुराकानीको क्रममा अवगत गराए। वास्तवमै उनले जीवन बाँचेका छन साहसिक तरिकाले। उनी साच्चिकै बिजेता हुन। हो उनी साच्चिकै प्रेरणा हुन अनि मार्गदर्शक हुन।

उनले भनेका थिए मैले बैसाखिको साहारामै पनि एकपटक ४०० मिटरको दौडमा दोस्रो स्थान हासिल गरेको थिएँ। तपाईं आफै भन्नुहोस त जसले केवल बैसाखिको आडमै दौड जित्न सक्छ भने के उ साधारण प्रतिभा हो र ?  जसले देखेको भरमा र आफ्नै अभ्यासमा औपचारिक तालिम बिनानै बिजुलिको काम गरे लामै समय । गलैंचा बुने अनि होटेलमा पनि काम गरे के उनी असाधारण साहस र आत्मविश्वासका धनि होइनन त ? 

उनी भारी बोक्ने बाहेक सबै काम गर्न सक्थे। हलो जोत्न सक्थे बैसाखिकै साहारामा अनि खेलकुद गर्न सक्थे बैसाखिकै साहारामा। उनले जिन्दगीमा कहिल्यै हरेश खाएनन अनि कहिल्यै निष्क्रिय बनेर बसेनन। कहिल्यै आफ्नो लागि त कहिल्यै समाजको लागि खटिरहे। तर बिडम्बना मान्छेले उनलाई आजसम्म चिन्न सकेनन। चिन्न चाहेनन र चिन्न मानेनन। तर यथार्थमा उनी संघर्ष, आत्मविश्वास र मानवताका पनि उदाहरण हुन।

उनी आजपनि निकै सक्रियताका साथ लागि परेका छन । समाज र सामाजिक अनि राजनीतिक रुपमा ओझेल परेका अपाङ्गहरुको उत्थानको निम्ति। स्वाभिमान र आत्मसम्मानको निम्ति। उसो त उनी एक सक्रिय राजनीतिक नेतृत्व पनि हुन तर म उनलाई राजनीतिक दृष्टिकोण भन्दा पर रहेर मानवीय दृष्टिकोणले व्याख्या गर्न चाहान्छु। राजनीतिक उपलब्धि भन्दा पर मानवीय उपलब्धि सङ्ग सम्बद्ध गराउन चाहान्छु । किनकी उनी मानवीय उत्तरदायित्वलाई सर्वप्रथम सिरोधार्य गर्ने नायक हुन।

सामाजिक सेवामा निरन्तर लागिरहेका उनी एक संस्था दर्ता गर्ने प्रक्रियामा छन जसबाट अपाङ्गता भएका नागरिकको लागि सहुलियत प्रदान गर्न सकियोस अनि स्वाबलम्बी जीवन यापनको निम्ति प्रशिक्षण दिन सकियोस। तर बिबिध कारणले उक्त काम बन्न सकेको छैन। अहिले पनि उनी सामाजिक कार्य र अपाङ्ग उत्थानमा सक्रिय छन। बिबिन्न संस्था र निकायहरु सङ्ग समन्वय गरेर धेरै अपाङ्ग व्यक्तिहरुको कृतिम हातखुट्टा लगाउने देखि आत्मनिर्भर बन्नको लागि सिपमुलक तालिम र प्रशिक्षण जस्ता कुरामा सहयोग गरिसकेका छन।

अनि यस्तै कार्यमा सदा जागरुक र सकृय छन। उनी भन्छ्न, स्थानिय सरकार, प्रदेश सरकार तथा केन्द्रिय सरकारले अपाङ्गता भएका मानिसहरुको प्रकृति र अवस्थाको उचित पहिचान गरि रोजगारको व्यवस्था गरोस। अपाङ्गता कोहिको रहर होइन अनि अपाङ्ग व्यक्तिलाई पनि बाच्नु पर्छ र साङ्ग जस्तै विकलाङ्ग पनि यहि देशका नागरिक हुन उनिहरुमाथी सरकारको उच्च उत्तरदायित्व बोध हुनुपर्छ। अपाङ्ग हरुलाई पनि उनीहरुको क्षमता अनुकुल अवसर हरु दिइनुपर्छ।

अपाङ्गको नाममा साङ्ग र नातेदार मात्रै उठाएर राखिनु हुन्न। किनकी अपाङ्ग पनि मानिस हुन, उनले पनि गर्न सक्छन र उनिपनी देशको नागरिक हुन। अपाङ्ग हरुलाई जीवन निर्वाहको लागि सरकारले व्यवस्था गरिनु पर्छ। शिक्षा, स्वास्थ र रोजगारको समुचित व्यवस्था गरि उनिहरुको न्यायोचित जीवन सुनिश्चित गर्दै नागरिक प्रतिको जिम्मेवारी पूरा गरिनुपर्छ। बरु अपाङ्गलाई भत्ता होइन उनको प्रकृति अनुसार सिपमुलक शिक्षा प्रदान गरेर स्वाबलम्बी र आत्मनिर्भर बनाइयोस। उनि अपिल गर्दछन सरकार र राजनीतिक दल प्रती कि अपाङ्ग माथी राजनीति नगरियोस। विभेद गरेर उनको अस्तित्व ओझेल नपारियोस। अवसर पाएसम्म उनले पनि सृजना गर्न सक्छन। परिवारको बोझ मात्रै भएर होइन आत्मनिर्भर बनेर जीवन यापन गर्न सक्छन। यति मात्रै नभएर उचित स्थान र उचित अवसर पाएसम्म दोस्रोको लागि पनि योगदान दिन सक्छन।

अपाङ्गता हुनु उसको रहर होइन र जीवन सुनिश्चित उसको अधिकार हो। सरकारले दिने परिचयपत्रमा पनि राजनितिकरण गरिनु भएन। साङ्ग लाई अपाङ्ग बनाएर सेवा सुविधा प्रदान गरिन्छ तर वास्तविक अपाङ्ग राजनीतिको अँध्यारो पर्दा पछाडि ओझेलमै रहन्छन। उनीहरुले कहिल्यै राज्यको सेवा सुबिधा अनि मानवको मानवताको अनुभुती गर्न पाएका हुदैनन। यस्तो प्रवृत्ति लाई यथाशीघ्र संशोधन गरियोस र न्यायोचित तवरले अपाङ्ग लाई मैत्रीपूर्ण वातावरणको अनुभुती गर्ने अवसर दिइयोस उनको माग छ। उनि अपाङ्ग, गरिब, उत्पीडित, द्वन्द्व पिडित तथा एकल महिला हरुको हक हितको निम्ति आवाज लिएर आएका एक्काइसौं सताब्दिका मसिहा हुन। उनका आवाज हरु सम्बन्धित र जिम्मेवार निकायका कान सम्म गुञ्जियुन अनि आवाजमा आवाज थप्ने सहयात्रीको अभाव पनि कहिल्यै नहोस। उनको प्रेरणाको उद्गम द्वार रुपि जीवन थप आलोकित बनोस। उनको इतिहास नयाँ पुस्तालाई बिहानिको उज्यालो किरण बनोस।

हो उनी साच्चिकै युग पुरुष हुन जसले हरेकलाइ प्रेरणा दिन्छन, जसले हरेक समय अरुको बारेमा सोच्छ्न अनि जो आफैमा संघर्ष र सफलताका नमुना हुन। उनको अपिल छ कि अपाङ्गता भएका व्यक्तिहरु यदि स्वाबलम्बन र आत्मनिर्भर बन्ने अपेक्षा गर्दछन भने उनी स्वयंले उनिबरुलाई सीपमुलक तालिम र प्रशिक्षण दिने छन। जीवन बाच्ने हौसला दिनेछन। चाहाना होस अनि साहस र आत्मबल होस तब त जिन्दगी बाच्नु पनि कोहि महाभारत होइन। तर यदि परिस्थिति सङ्ग बिरक्तिएर निधारमा हात राख्ने मात्रै हो भने जिवनमा पाउन र गर्न सकिने के हि छैन। साहस गरेर अघि कदम उठाउनेहो भने जटिलता र डर आफै पछि हट्ने गर्छन। आत्मविश्वास र आत्मबल भयोभने प्रतिकुलताको कालो छायाले कहिल्यै सौर्य र विरताको प्रकाश लाई ओझेल पार्न सक्दैन।

हो वास्तविक जिवनका प्रस्तोता हुन रुपेश तामाङ जसलाई बुझ्न सके चुनौतीका पहाड पनि ढाल्न सकिन्छ। जसलाई हेर्न सके आफैमाथिका बाधा अवरोह हरुको सफाया गर्न सकिन्छ। जसको समिपमा मात्रै रहन सक्यो भने मानवतामयि साहसिक जीवन यात्राको पाठ सिकिन्छ। म यहीँ बाट भन्दछु रुपेश तामाङलाई अपार धन्यवाद जसले हरेक व्यक्तिलाई संघर्ष र सफलताका चरण पार गर्न सिकाउँछन। उनलाई बिशेष विशेष धन्यवाद जसले मलाई यो सबै लेख्ने अवसर पनि दिए।

ूहातखुट्टा पुर्ण भएरपनि सडकको छेउमा बसेर क्यारमको धुलो उडाउनु वा निकम्मा भएर बस्नु वास्तविक अपाङ्गता हो तर शारीरिक कमजोरीका बाबजुद पनि सकृय जिवनको अपेक्षामा आत्मविश्वासका साथ स्वाबलम्बनको मार्गमा हिड्छन भने तिनीहरु सफल यात्री हुन। जिवनको रणभुमिमा विरता प्रदर्शन गर्ने योद्धा हुन।