देउखुरीको भालुवाङ र पाखापानी क्षेत्र बिहानै देखिशिल भएपछि बजार क्षेत्र सुनसान

भालुवाङ, दाङकाे राप्ती गाउँपालिका वार्ड नं. १ काे भालुवाङ, पुलचाेकबजार र पाखापानी क्षेत्र आज बिहानबाट सिल गरेपछि बजार सुनसान देखिएकाे छ भने सुरक्षा व्यवस्था कडाई बनाईएकाे छ । समुदायस्तरमा कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलाउट रोकथाम न्युनीकरण र नियन्त्रणका लागि वडा नम्बर १ को भालुवाङ क्षेत्र र पाखापानी क्षेत्र शुक्रबार विहान देखि शिल गरिएपछि बजार क्षेत्र सुनसान रहेको हाे ।

पूर्वमा भालुवाङ प्युठान सिमाना सम्म र पश्चिममा वडा नम्बर २ को सिमा कटेशनाला सम्म आज विहान ६ बजे देखि सिल गरिएको छ । ती क्षेत्रमा शिल गरिए पछि बजार उद्योगधन्दा, कलकारखाना, सरकारी तथा गैर सरकारी कार्यालय बन्द भएका छन् । भने अत्यावश्यक सवारीसाधनका साधन, एम्बुलेन्स, दमकल, लगायतका साधान वाहेक सार्वजनिक यातायातका सम्पूर्ण साधान बन्द भएका छन् ।

बजारमा मानिसको आवत-जावत रोकिएपछि बजार क्षेत्र समेत सुनसान बनेको राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसीले जानकारी दिएका छन् । शिल क्षेत्रलाई कडा बनाउन ठाउँ ठाउँमा प्रहरीहरू परिचालन समेत गरिएको बताइएको छ । बिहीबार राप्ती गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका स्तरीय विपद व्यवस्थापन समिति ( C.C.M.C) का अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको बैठकले वडा नम्बर १,४ र ८ का ५ वटा टोललाई भदाै १२ गते १९ गते सम्म ७ दिन सम्मका लागि शिल गर्ने निर्णय भए अनुसार वडा नम्बर १ को भालुवाङ पुल्चोक बजार क्षेत्र र पुरानो भालुवाङ बजार क्षेत्र तथा पाखापानी क्षेत्र बढी संवेदनशील क्षेत्र भएको हुँदा बिहान ६ बजे देखि शिल गर्ने र वडा नम्बर ४ को बुढीचाैर , माैरीघाट क्षेत्र र वडा नम्बर ८ को कोहलुवा क्षेत्रमा भने शुक्रबार राति १२ बजे देखि शिल हुने भएको गाउँपालिकाका सुचना अधिकारी विश्वास विकले जानकारी दिएका छन् ।

शिल हुने क्षेत्र भित्रका सम्पूर्ण किसिमका सार्वजनिक यातायात सेवा( बस, माइक्रो, अटो, टेम्पो र अन्य सवारीसाधान) अार्को निर्णय नभए सम्मका लागि बन्द गर्ने , गाउँपालिका भित्रका सम्पूर्ण विद्यालय सञ्चालन हालका लागि स्थगन गर्ने, स्वास्थ्य सेवा प्रवाह गर्नका लागि स्वास्थ्यकर्मीले अालोपालो गरि कार्य सञ्चालन गर्ने, गाउँपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा वाहेक अन्य सवै सेवा भदौ १२ गते देखि स्थगित गर्ने र वडा कार्यालयबाट कोभिड १९ को रोकथाम सचेतना अभिवृद्धिका लागि प्रचारप्रसार गर्ने लगायतको निर्णय यस अघि नै भइसकेको छ ।