प्यूठानमा आज रातीदेखि एक हप्तासम्म लकडाउन

प्यूठान, प्यूठानमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि आजबाट एक हप्ता लकडाउन हुने भएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति डिसिसिएमसी को बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी यही १८ गते सम्म लकडाउन गर्ने निर्णय गरेको हो ।यो अवधिमा एम्बुलेन्स, प्रेस, दूधका गाडी बाहेक सबै यातायातका साधन बन्द रहनेछन् ।

बन्द अवधिमा अत्यावश्यक खाद्यान्न पसल, तरकारी पसल र डेरी बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिएका छन् । सङ्क्रमित समुदायमा हेलमेल भएका र समुदायमा कोरोना सङ्क्रमणको जोखिम उच्च बनेको भन्दै उनीहरूको कन्ट्याक्ट ट्रेसिङ गरिने भुसालले बताए ।यसअघि १५ गतेसम्म सार्वजनिक तथा निजी यातायात बन्द गर्ने निर्णय गरिएको थियो ।

सो समय अवधिलाई तीन दिन थप गरी भदौ १८ गतेसम्म बन्दाबन्दी गर्ने निर्णय भएको हो। एक हप्ताका लागि अत्यावश्यक पसल बाहेक सबै बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ ।