सुदूरपश्चिममा थपिए ३६ जना कोरोना संक्रमित
धनगढी, सुदूरपश्चिममा आज बिहीबार थप ३६ जना कारोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा प्रदेशको तीन वटा प्रयोगशालामा नौ सय २१ जनाको परीक्षणमा प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण देखिएको हो।
सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा बैतडीका १७, कैलालीका १२, डोटीका ६ र बझाङका एक जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा चार सय ९२ जनाको परीक्षणमा कैलालीका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिकाका नौ र धनगढीका तीन जनामा संक्रमण देखिएको हो । धनगढी उप–महानगरपालिकाका पाँच वर्षीया बालिका सहित २९ वर्षीया महिला र ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार पाँच सय ४६ पुगेको छ । संक्रमण पुष्टि भएका मध्ये चार हजार सात सय ७५ ले कोरोना जितेर घर फर्किएको बताइएको छ । प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि भएका ११ जनाको ज्यान गैसकेको छ ।