कोरोनामुक्त हिमाली जिल्ला डोल्पामा एक हप्ता लकडाउन

दुनै,  कोरोनामुक्त हिमाली जिल्ला डोल्पामा बुधबार राति १२ बजेदेखि एक हप्ता लकडाउन गरिएको छ । छिमेकी जिल्ला जाजरकोट र रुकुम पश्चिममा कोरोना संक्रमण बढेकोले जिल्लामा कोरोना भित्र्न नदिन लकडाउन गरिएको हो ।

गाउँ फर्कने नागरिक नरोकिएको भन्दै तत्काल एक हप्ता लकडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

लकडाउन अवधिभर कुनै पनि नागरिकलाई जिल्ला प्रवेश गर्न नदिन सीमा प्रहरीलाई निर्देशन दिइएको छ । बुधबार बसेको जिल्ला विपत व्यबस्थापन समितिको बैठकले कोरोना भित्रन नदिन लकडाउन गर्ने निर्णय गरेको थियो ।

लकडाउनमा दैनिक उपभोग्य वस्तुु र अत्यावश्यक काममा भने सुरक्षा सतर्कता अपनाएर आउजाउ गर्न पाइने छ । डोल्पामा हाल एक जना पनि कोरोना संक्रमित छैनन् ।