पुर्वमन्त्री बस्नेतले पहिरोमा परी अभिभावक गुमाएका ८ बालिकाको शिक्षाको जिम्मा लिने

काठमाडौं, पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको पहिरोमा परी अभिभावक गुमाएका आठ बालिकको शिक्षाको जिम्मा लिने घोषणा गरेका छन्।

बस्नेतले जुगल गाउँपालिकाको लिदी पहिरोमा परी अभिभावक गुमाउने ७ जना बालिका र बाह्रविसे पहिरोका एक जना बालिका गरी आठ जनालाई निःशुल्क कक्षा १२ सम्म होस्टेलमा राखेर पढाउने प्रतिबद्धता जनाएका हुन् ।

काँग्रेसको खेलकुद विभागका प्रमुख समेत रहेका बस्नेतले एक विज्ञप्ति जारी गरी जिल्लामा पहिरोबाट अभिभावक गुमाएर टुहुरो भएका स्मारिका दोङ्ग, सविता दोङ्ग, दुर्गा दोङ्ग, कविता दोङ्ग, अनिता दोङ्ग, कान्छी दोङ्ग, छिरिङ गोले र नाम नखुलेको साङबहादुर दोङ्गकी छोरीको पठनपाठनको व्यवस्था गर्ने पत्रमा उल्लेख छ ।

सबै बालबालिकालाई यसै शैक्षिक शत्रबाट काठमाडौं उपत्यकाभित्र रहेका स्कुलको होस्टेलमा राखेर पढाउने व्यवस्था गरिने भएकोले यथाशीघ्र सम्पर्कमा आउन वा ल्याउन सम्बन्धित व्यक्ति वा उनीहरुका आफन्तलाई बस्नेतको आग्रह छ ।

बस्नेतले यसअघि कोरोनाको कारण पहिलो मृत्यु हुने महिलाको एक जना बच्चालाई पोषण स्वरुप १ लाख र १२ कक्षासम्म निःशुल्क अध्ययन गर्ने गराउने बताएका थिए।