देउखुरीको गढवामा प्राथमिक उपचार तथा खोज उद्धार समुदायबाटै

दाङ, देउखुरीको लमही कोइलाबास सडकखण्ड अन्तर्गत पर्ने देउखुरी सामुदायिक पुस्तकालयको अगाडी बिच सडकमा बिपरित दिसाबाट आएका दुई वटा मोटरसाइकल एक आपसमा ठोकिदा ठूलै दुर्घटना भयो । दुर्घटना स्थलमा वरीपरिका बस्तीका मानिसहरु घेरिए रमिते बनेर हेरिरहे तर कसैले पनि दुर्घटनामा परेका घाइतेहरुलाई उद्धार गर्ने तर्फ लागेनन् ।

घटना पत्ता लागेपछि सडकछेऊ घर भएकी खिमादेवी भण्डारीले प्राथमिक उपचारको बाकस बोकेर आइपुग्नुभयो । दुर्घटनामा परेकाहरुको कसैको टाउकोबाट रगत बगिरहेको थियो त कसैको हात खुट्टा नै भाँचिएको थियो । हत्तपत्त खिमा भण्डारी, तिलक परियार,भरतकुमार पन्त, सुजाता समाल र खिमा डाँगी लगायतको प्राथमिक उपचार टोली आएर घाईतेहरुको उद्धार गर्न सुरु गर्यो । कसैले हात खुट्टामा काप्री बान्दै थिए त कसैले बगिरहेको रगत रोक्न त्रिकोण पट्टी त कसैले रोलर पट्टी बाध्दै थिए ।

उता कसैले स्टेचरमा घाइतेहरुलाई बोकेर हस्पताल लैजादै थिए । छिनपछि टोलीले एम्बुलेन्स र प्रहरीलाई समेत खबर गर्यो र घटना स्थलमै प्राथमिक उपचार पाएका घाइतेहरुलाई अस्पताल पठाइयो । यो घटना भने वास्तविक होइन, तालिमका सहभागीहरुले प्रयोगात्मक सिप सिकिरहेको दृश्य हो । रिड नेपालद्धारा संचालित नेपालमा अपांगता समाबेशी बिपद् जोखिम न्यूनिकरण प्रबर्धन परियोजना अन्तर्गत देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले आयोजना गरेको प्राथमिक उपचार तथा खोज उद्धार तालिमको दृश्यले तालिमका सहभागी र आयोजकहरुको मनै स्पर्श गरिरहेको पाइन्थ्यो ।

लाग्थ्यो यो कुनै वास्तविक दृश्य नै हो ।पुस्तकालय तथा स्रोत केन्द्रले कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रण गर्न समुदाय स्तरमा धेरै सचेतनाका गतिविधिहरु संचालन गरिरहेको र त्यस अन्तर्गत बिपद प्रतिकार्य र खोज उद्धारका लागि प्राथमिक उपचार तालिमको आयोजना गरेको अध्यक्ष गिरिराज भट्टले बताए । समुदाय र क्वारेण्टाइनहरुमा मास्क सेनेटाइजर वितरण र हात धुने टैंकीको ब्यवस्थापन संगै बिविध सचेतनामूलक कामहरु गर्दै आएको र भर्चुअल पद्धतिबाट मिटीङहरु गर्दै आएको भट्टले जानकारी दिए । यत्तिमात्र नभै अग्नीपिडीतहरुलाई राहात वितरण तथा कोभिड १९ माहामारीमा ज्याला मजदुरी गरेर छाक टार्ने नागरिकहरुलाई गढवा गाउँपालिका मार्फत राहत वितरणमा पनि सहयोग गरेको पुस्तकालयले जनाएको छ ।

प्राथमिक उपचार तालिममा घटनास्थलमा पुगी घाइतेहरुको खोज उद्धार गर्ने, काप्री बाध्ने, पट्टी बाध्ने, रक्तश्राब रोक्ने लगायतका थुप्रै बिधिहरु सिक्न पाएको तालिमका सहभागीहरुले बताएका छन् । सामाजिक दुरी कायम गरी आयोजना गरिएको सो तालिममा रिड नेपालका कामु निर्देशक दुर्गेस योगी, रिड नेपालका चिनकाजी श्रेष्ठ, रबिन्द्र अधिकारी र राजेश चौधरी लगायतले भर्चुअल पद्धतिबाट शुभकामना तथा शेसन समेत संचालन गरेका थिए ।

तालिममा प्राथमिक उपचार बिधि, घाइतेहरुको चेक जाँच, बेहोसी अवस्थाको पहिचन, घाउ, चोटपटक र पट्टीहरु आदीका बारेमा प्रयोगात्मक तथा सैद्धान्तिक अभ्यास रेडक्रस दाङका इन्कोर कार्यक्रम फिल्ड अधिकृत देवी प्याकुरेल र मोहनकुमार पाण्डेयले प्रशिक्षण दिएका थिए । उद्घाटन कार्यक्रमको संञ्चालन पुस्तकालयका सचिव तथा पत्रकार शिबराज पन्थीले गरेका थिए ।