श्रीमती कुट्ने श्रीमान पक्राउ
विदुर, नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित महादेवफाँटमा श्रीमतीलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। महादेवफाँटका ३७ वर्षीय पशुराम नेपालले श्रीमती सुमी घिमिरेलाई दैनिकै जसो पिट्ने र यातना दिने गरेको स्थानियको भनाइ छ।
नेपालले श्रीमती घिमिरेलाई गए राती ११ः०० बजेको समयमा सुतिरहेको अवस्थामा लात्ती, मुडकी तथा फलामको साबेलले पटकपटक शरीरका बिभिन्न अंगमा प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पण्डितले जानकारी दिए।
उनका अनुसार घाइते घिमिरेका दाजु किशोर घिमिरेले ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको जानकारी दिए। प्रनि पण्डितले किटानी जाहेरी दिएपछि तत्काल जिल्लाबाट खटिएको प्रहरी टोलीले नेपाललाई नियन्त्रणमा लिएको जानकारी दिए।
घिमिरेलाई नुवाकोट अस्पताल प्रालिमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौँ पठाइएको प्रनि पण्डितले जानकारी दिए।