रुकुममा लागुऔषध कारोवारी गर्ने पक्राउ

रुकुम पश्चिम , प्रहरीले रुकुमपश्चिममा दुई लागुऔषध कारोवारीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको टोलीले जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुङ्गाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी निरीक्षक दिनेश गुरुङका अनुसार, पक्राउ गर्न खोज्दा कारोवारी भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको थियो । गोली प्रहारबाट एक घाइते भएका छन् भने उनीसँगै अर्का एक जना पक्राउ परेका छन् । एक जना भने भागेको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते हुनेमा रुकुमपश्चिमको मुसीकोट नगरपालिका–११ भलाक्चाका २५ वर्षीय निर्मल पुन छन् । उनको तिघ्रामा गोली लागेको र थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको छ । उनीसँगै रहेका मुसीकोट–११ कै ३५ वर्षीय लक्ष्मी पुन पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीका अनुसार अर्का जयप्रकाश घर्ती भने फरार छन् ।