दाङमा रातीको बन्द कायमै, सवारी साधनमा पनि जोडबिजोड लागू हुने
दाङ, दाङमा रातीमा जारी निषेद्याज्ञाको समय अर्को सूचना नभएसम्मका लागि थप गरिएको छ । कोरोना भाइरसको जोखिम बढेको भन्दै भदौ १ गतेदेखि ८ गतेसम्म रातीको समयमा गरिएको निषेधाज्ञाको समय आज पुन थपिएको हो । जिल्ला प्रशासन कार्यालय दाङमा आज बसेको संकट व्यवस्थापन केन्द्रको वैठकले साँझ ७ बजेदेखि विहान ५ बजेसम्मका लागि निशेधाज्ञाको समय थप गरेको हो ।
वैठकले रातको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाउने, दिउँसो पूर्णरुपले सुरक्षा मापदण्ड अपनाएर बजार, यातायात, कार्यालयहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ । यस्तै वैठकले भदौ ११ गतेदेखि जिल्लाभर लागू हुने गरी निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोड बिजोड प्रणाली लागू गर्ने निर्णय गरेको वैठकमा सहभागी नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनले जानकारी दिए । बजार लगायतका स्थानमा स्वास्थ्य मापदण्ड पूरा नगर्नेलाई नगद तथा अन्य कारबाही गर्ने निर्णय गरेको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा गाउँपालिका प्रमुखहरु, सुरक्षा निकायमा प्रमुखहरु, विषयगत कार्यालयहरु, उद्योग वाणिज्य संघ, च्याम्वर, नेपाल पत्रकार महासंघलगायतको उपस्थितिमा बसेको वैठकको थियो । वैठकले बजारलाई व्यवस्थित गर्नका लागि व्यवसायी तथा ग्राहक सबैले अनिवार्य स्वास्थ्य मापदण्ड प्रयोग गर्ने, छेकबार बनाउने, प्रचारप्रसारका लागि माइकिङ, सूचना सार्वजनिक गर्ने निर्णय गरेको छ । वैठकले सबै गाउँपालिकामा क्वारेन्टाइन, आइस्योलेसनको व्यवस्था गर्ने, कन्ट्रयाक ट्रेसिङ, चेकजाँच बढाउने निर्णय गरेको छ । वैठकले बढी भिडभाड हुने वैंकिङ क्षेत्र, मालपोतलगायतका कार्यालयहरुमा हुने कामकारबाही व्यवस्थित गर्ने, सबै कार्यालयमा अनिवार्य माक्स प्रयोग गरेर मात्र सेवाग्राहीहरुको प्रवेश व्यवस्था मिलाउनेलगायतका निर्णय गरेको छ ।
वैठकमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहागरपालिकाका उपप्रमुख माया आचार्य, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, बबई गाउँपालिकाका प्रमुख भुवनेश्वर पौडेल, दंगीशरण गाउँपालिका प्रमुख भागिराम चौधरीलगायतकाले आ–आफ्ना सुझाबहरु राखेका थिए । यस विषयमा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले दाङलाई कोभिडबाट मुक्त राख्नका लागि राती पूर्णरुपले बन्देज र दिउँसो नियन्त्रणमूखी उपाएको खोजी गरिएको बताएका छन् ।