साहित्यमा वर्गीय चरित्र देखिन्छ र हुन्छ : महासागर युवा गजलकार

पछिल्लो चरणमा युवा पंक्तिमा गजल बिधाले निक्कै ठाउँ ओगटेको छ । युवाहरुले अत्याधिक रुचाइएको बिधा गजल सर्वाधिक लोकप्रिय साहित्य बिधाका रुपमा रहेको छ । यस्तै नेपाली गजलको अबस्थाको बारेमा नेपाली गजल श्रीवृद्धीका लागि अमुल्य योगदान निभाई रहनु भएका सुर्खेतका गजलकार महेन्द्र चन्द महासागरसंग हाम्रा साहित्य सम्पादक धिरेन अनुपमले गरेकाे साहित्यिक भलाकुसारी ।

 कुसे न्युजमा यहाँलाई हार्दिक स्वागत छ । 

  धन्यवाद ! छ । सम्पूर्ण साहित्यिक आफन्तहरुमा साहित्यको अभिभादन छ । सम्झिनु भयो आभारी छु ।

  अचेल यहाँका दिनहरु कसरी व्यतित हुँदै छन् ?

 अहिलेको परिस्थितिमा सबैका दिनहरु लगभग उस्तै तरिकाले बितिरहेका छन् । फरक भनेको म केहि सिर्जनशील कर्ममा पनि लागी रहेको छु । गजल, कविता, कथा, लेख, समालोचना जस्ता कुरामा कलम चल्दैछ ।

गजल लेखन कर्ममा कसरी बामे सर्नुभयो र कोबाट अभिप्रेरित हुनुभयो तपाईँ ?

  मेरो साहित्यमा पदार्पण २०५७ सालतिरबाट कविता लेखेर भएको हो । गजल लेखनको आरम्भ भने २०५९ सालतिरबाट भएको हो । जानी नजानी रहर गर्ने सन्दर्भमा गजलमा कलम चलाउन थालेको हुँ । आरम्भमा गजलको संरचना मात्र बुझेर संरचनागत मात्र गजल लेखियो । पछि बिस्तारै गजलमा प्राण पनि हुन्छ, गजलमा गुदी तत्व चाहिन्छ भन्ने कुराको महशुस भए पश्चात गजलमा प्राण भर्ने प्रयत्न गर्दै यहाँसम्म आइपुगियो । जहाँसम्म अभिप्रेरणाको सन्दर्भ हो मलाई प्रेरित गर्ने कुनै व्यक्ति त हुनहुन्न त्यो सौभाग्य मैले प्राप्त गर्न पाइन तर रेडियो नेपालमा बज्ने गजलहरु र गजलका सन्दर्भहरुले भने मलाई अवश्य नै प्रेरणा प्रदान गरेका हुन् । म रेडियोहरुबाट अभिप्रेरित गजलकार हुँ भन्न मिल्छ ।

जीवन, मृत्यु र संस्कार के हो जस्तो लाग्छ र साहित्यमा त्यसको प्रभाव कस्तो रहन्छ ?

जीवनका सन्दर्भमा थुप्रै स्वभाविक परिभाषाहरु छन् । मलाई जीवन सकारात्मक र नकारात्मक यी दुबै पक्षहरुको भोगाइको मिश्रित सङ्गालो हो र एउटा जीवित अनुभव सङ्गाल्ने अवसर पनि हो भन्ने लाग्छ । मृत्यु त असाध्यै भयानक सत्य भैहाल्यो, जो सबै जीवनहरुका निम्ति ढिलोचाँडो अनिवार्य छ ।

संस्कार चाहिँ समाजको कानुन हो जसले समाजलाई सकारात्मक दिशातिर मार्गनिर्देश गर्दछ । संस्कार संस्कृतिहरुमा थुप्रै नियम कानुनहरु हुुन्छन् जुन मान्नै पर्ने हुन्छ र मान्दा सबैलाई भलो नै हुन्छ । यति भनिरहँदा केही नराम्रा संस्कारहरु पनि त हुन्छन् नी भन्ने प्रश्न आउला ती नराम्रा चाहिँ संस्कार होइनन् कुसंस्कार हुन् । कुसंस्कारलाई संस्कार त भन्नै मिलेन ।

संस्कारमा नराम्रो भन्ने हुँदैन सुसंस्कार मात्रै हुन्छन् । जहाँसम्म यी सामाजिक तत्वहरुको साहित्यसँगको सम्बन्ध र प्रभावको कुरा छ ? साहित्यले सिङ्गो समाजलाई नै प्रतिबिम्बित गरेको हुन्छ भने यस भित्र मानवीय भावना, जनजिविका, जन्म, मृत्यु, सामाजिक मूल्य र मान्यताहरु, जीवन दर्शनहरु, संस्कार संस्कृतिहरु आदि स्वतः समाविष्ट भइहाल्छन् नै ।

त्यसका साथसाथै समाजमा रहेका विकृति, विसङ्गतिहरु, कुसंस्कारहरु जस्ता नकारात्मक तत्वहरुको विगठनको आव्हान पनि गरिन्छ । यसरी हेर्दा समग्र मानव समाज संस्कार संस्कृतिहरुको प्रभाव साहित्यमा स्वभविक रुपमा पर्छ र पर्नु पर्छ । मानवीय जीवनका लागि नै हो साहित्य र साहित्य सिर्जना सुसंस्कृत समाजको परिकल्पना पनि हो ।

 साहित्यको वर्गीय चरित्र हुन्छ कि हुँदैन ? तपाईँले सिर्जना गरेको साहित्यले कसको पक्षमा वकालत गर्छ ? र साहित्य कसको पक्षमा हुनुपर्छ ?

साहित्यमा वर्गीय चरित्र देखिएको पाइन्छ र हुन्छ । यो स्वभाविक पनि छ किनभने समाजमा विभिन्न वर्गहरु हुन्छन् । साहित्य समाजसँग सम्बन्धित विषय भएका कारण समाजमा वर्गहरु हुने बित्तिकै साहित्यको प्रभाव पनि त्यहि प्रकारले परिहाल्छ यसर्थ साहित्यमा वर्गीय चरित्र जहाँ पनि देखिन्छ । साहित्य सर्वहाराका विषयमा पनि लेखिएका छन् भने राजा महाराजाहरुको प्रशस्तिका निम्ति पनि लेखिएका छन् ।

ईश्वरका निम्ति पनि त लेखिएका हुन्छन नी ? त्यसैले साहित्यमा वर्गीय चरित्र देखिन्छ र यो हुन्छ तर साहित्यकारहरुमा यो चरित्र आवश्यक छैन किनभने सबैले लेख्ने साहित्य नै हो त्यो जुन वर्गको भए पनि समाजको सकारात्मकतामा केन्द्रित हुनु पर्छ । मेरो लेखनीको चरित्रमाथि कुरा गर्दा मेरा सिर्जनाहरु चाहिँ सामाजिक विकृतिका विरुद्घ, गरिबीका विषयमा, मानवीय मनोविज्ञान र जीवन दर्शनका सन्दर्भमा जोडिएका जस्ता देखिन्छन ।

यसो त साहित्य आवाज नभएकाहरुका लागि, सामाजिक विकृतिको भण्डाफोर गर्न र राज्यलाई झकझक्याइरहन पनि लेखिनु पर्छ भन्ने मेरो धारणा छ र त्यो प्रयास पनि गरिरहेको छु । जबसम्म समाजमा विभिन्न वर्गहरु रहन्छन तबसम्म साहित्यमा यसका रुपहरु र प्रभावहरु चाहिँ देखिइ नै रहन्छन् ।

अहिले गजल लेख्नेहरुको भिड पनि छ । पुराना विस्थापित र नयाँ स्थापित हुँदै आइरहेको अवस्था पनि हो । नयाँ पुस्ताले लेखेका गजलहरुबाट तपाईँ सन्तुष्ट हुनुहुन्छ ?

   महत्वपूर्ण सवाल उठाउनु भयो । चाहे बुझेर होस या नबुझेर, राम्रा हुन या नराम्रा नेपालमा पछिल्लो समय सबैभन्दा बढी लेखिने साहित्य गजल नै हो, यसमा दुईमत छैन यसर्थ पनि तपाईँको ‘भिड’ भन्ने शब्द स्वभाविक छ । भिडमा सबै प्रकारका मानिसहरु हुन्छन् । सबैको धारणा, विचार र व्यवहारहरु फरक हुने भइहाले ।

जसले गजललाई गहिरोसँग अध्ययन गरेको छ, गजलीय चेत छ र साहित्यिक चरित्र छ त्यो व्यक्तिले अग्रजलाई सम्मान गर्न कन्जुस्याईँ गर्दैन र गर्नै सक्दैन । जसमा घमण्ड र अहङ्कार नामका अलङ्कारहरु हुन्छन् र एक शेर लेख्दैमा आफूलाई शेर नै देख्न थाल्छन् त्यस्ता व्यक्तिहरुले अग्रज त के जननी र देशलाई पनि अपमान गर्न पछि पर्दैनन् ।

यस्ता खालका चरित्र भएका केहि गजलकारहरु भएका देखिन्छन र सुनिन्छन् । यस्ता खालका स्रष्टाको लेखनीको आयु त्यति लामो हुँदैन । खहरेका भेल जस्ता आउँछन र गइहाल्छन् अझ यसो भनौ त्यस्तो खालको चरित्र साहित्यिक चरित्र हुँदै होइन तसर्थ टिक्दैनन् । टिकिहाले भने पनि अस्वभाविक साहित्यिक व्यक्तित्वका रुपमा रहन्छन ।

यस्तो हुनु हुँदैन । अग्रजको सम्मान गर्न सबैले सक्नुपर्छ । इतिहास बिर्सनेले इतिहास निर्माण गर्न कसरी सक्ला र ? घमण्ड सबैभन्दा घातक चिज हो साहित्यमा । जहाँसम्म विस्तापित र स्थापितको कुरा छ पुरानो पुस्तालाई कसैले विस्थापित गर्नै सक्दैन बरु अपमान गर्न सक्ला र गरिएको पनि देखिन्छ । त्यस्तै नयाँ पुस्ता स्थापित हुन खोज्नु र स्थापित हुनु असाध्यै सुखद कुरा हो । मेरो विचारमा पुस्ताहरु निर्माण भइरहनु पर्छ ।

नयाँ पुस्ताले पुरानो पुस्ताबाट सिक्दै सुन्दै सम्मान गर्दै अगाडि बढ्नु पर्छ । किन भने त्यो व्यक्ति पनि भोली साहित्यमा टिकिरह्यो भने अवस्य नै पुरानो पुस्ता बन्छ त्यतिबेला नयाँ पुस्ताले अपमान ग¥यो भने के गर्ने ? तपाईँको अर्को प्रश्न छ नयाँ पुस्ताको गजल लेखनीबाट सन्तुष्ट हुने नहुने कुरा म नयाँ पुस्ता सबै त होइन केही गजलकारहरुबाट असाध्यै खुसी छु, सन्तुष्ट छु । निकै सशक्त गजलहरु लेख्ने स्रष्टाहरु पनि छन् । गजलको मर्म बुझेर मानवीय हृदय छुने दार्शनिक गजल लेख्ने गजलकारहरु पनि छन् खुसी लाग्छ । सबै त होइन केही नयाँ पुस्ताका गजलकारहरुबाट म सन्तुष्ट नहुने कारण छैन ।

गजल बहरमै हुनु पर्छ या गैर बहरमा स्वतन्त्र ढङ्गले लेखे पनि हुन्छ यसमा तपाईँको दृष्टिकोण के हो ?र गजल साँच्चिकै गजल हुनको लागि संरचनागत ज्ञान भए भइहाल्छ कि अरु कुनै कुराको पनि आवश्यकता रहन्छ ?

 गजल बहरमा लेख्ने कि गैर बहरमा लेख्ने भन्ने विषय निकै पटक निकै व्यक्तिहरुको विचारमा सुनिन्छ । चर्का चर्का बहसहरु पनि भएका छन् । म यी दुई मध्ये एकको पक्षधर वा विपक्षी कुनै होइन । यस विषयमा म स्पष्ट छु । गजल लेखनको लामो अन्तर्राष्ट्रिय परम्परा र नेपाली गजल लेखन परम्परालाई हेर्दा विभिन्न अवस्था परिवेश अनुसार गजल लेखनको शैली देखिन्छ । ठाउँ परिवेश र देश अनुसार पनि फरक भएको पाइन्छ ।

मलाई लाग्ने कुरा चाहिँ के हो भने हामीले गजललाई संरचनागत रुपमा र त्यो गजलको प्राण छ कि छैन भन्ने कुरामा ध्यान दिएर लेख्नु पर्छ । जसले जुन शैलीमा(बहर या गैर बहर) लेख्न सक्छ त्यही शैलीमा लेख्नु पर्छ तर सैद्घान्तिक कुरालाई चाहिँ अवस्य पनि ख्याल गर्दै गजललाई हृदय स्पर्शी बनाउनु पर्छ । गजल बहरमा लेख्ने भन्दैमा प्राण बिनाको गजलको अस्थिपञ्जर लेखेर भएन भाव पनि आउनु प¥यो र गैर बहरमा लेख्ने भन्दैमा भाव आउँदा आउँदै पनि अक्षरहरुको संख्यामा व्यापक तलमाथि हुनु हुँदैन एक दुई अक्षर तलमाथिले फरक नपार्ला । गजलमा लयको कुरा छ लय सबैका गजलमा हुन्छन । तुक मिलाएर लेख्यो भने लय स्वतः आइहाल्छ भन्ने मेरो धारणा हो । जुन काम अहिले धेरैले गरिरहनु भएकै छ ।

जसले जुनमा लेख्न सक्छ त्यसैमा लेखौँ नेपाली गजलको विकास गरौँ भन्ने मलाई लाग्छ । तपाईँको थप प्रश्नको सन्दर्भमा मैले माथि पनि सङ्केत गरिसकेको छु कि गजल संरचनाले मात्र गजल हुँदैन यसमा भाव पक्ष पनि उत्तिकै प्रखर ढङ्गले उपस्थित भएको हुनु पर्छ । संरचना गजलको शरीर हो भने भाव प्राण हो । प्राणीमा शरीर र प्राणको महत्व जस्तो हुन्छ गजलमा पनि यो नियम लागु हुन्छ भन्ने मेरो धारणा छ ।

तपाईँ सञ्चारकर्मी, नेपाली भाषाको अध्यापक र यौटा नेपालको अब्बल गजलकार पनि हुनुहुन्छ, कर्णाली प्रदेशमा त तपाइँको स्थान उदाहरणीय छ यसरी हेर्दा यी तीनवटा पाटो एकअर्कामा सम्बन्धित र परिपूरक जस्ता देखिए पनि उद्देश्य त फरक छन् ? तपाईँ लागि निभाउन कठिन पाटो चाहिँ कुन हो ?

  महत्वपूर्ण प्रश्नको लागि यहाँलाई धन्यवाद छ । म एक सञ्चारकर्ममा पनि आबद्घ व्यक्ति हुँ जहाँ म साहित्यलाई पनि अगाडि बढाउने काममा लागि रहेको छु । रेडियो भेरी सुर्खेतमा लामो समयदेखि ‘गीतगजल’ लगायतका कार्यक्रम सञ्चालनार्थ क्रियाशिल छु । त्यसै गरी म एक अध्यापकका हिसाबले नेपाली भाषा साहित्य नै पढाउने भएकाले पनि यो पनि एक साहित्य कर्मकै रुपमा लिएको छु भने गजल लेखन र अन्य साहित्य लेखन त स्वभावतः मेरो रुचिको कर्म भइहाल्यो ।

तपाईँले भने जस्तै यी तीनैवटा पाटाहरु एक आपसमा सम्बन्धित पनि छन् । मलाई यी तीनैवटा कर्म गर्न पाउँदा हर्षानुभूति हुन्छ । यी सबैलाई मिलाएर सँगसँगै लैजान पाएको छु । म भाग्यमानी छु । जहाँसम्म यी पाटाहरु मध्ये निभाउन कठिनाइ हुने सन्दर्भको सवाल छ यसमा मलाई निभाउन कुनै पनि पाटोमा कठिनाइको महसुस गर्नु परेको छैन । लगनशीलता, मेहनत र साधना त हुनै पर्छ । अप्ठ्यारो हुँदैन ।

 मानव जीवन र यौनप्रतिको तपाईँको बुझाइ के हो ? यी कुराहरुको अन्तरसम्बन्ध र प्रभाव समाजमा कस्तो रहन्छ ?

  मानव जीवन र यौन एक आपसमा अन्तर सम्बन्धित कुरा हुन् । यो कुरा स्पष्टै छ । यौनलाई हेर्ने दृष्टिकोण सङ्कुचित भएको भए पनि यो समाज, मानवीय जीवन र अस्तित्व यसमै निर्भर छ । त्यसैले यौनको महत्व मानव जीवन मात्र नभएर सम्पूण जीव जगतमा अतुलनीय छ । यौनका आफ्नै नियम छन् नियम विपरितका कर्म हिंसा र विकृति हुन्छन् त्यसैले विकृत यौन होइन प्राकृतिक यौनले समाजलाई जीवित राख्छ अस्तित्व प्रदान गर्दछ ।

प्रश्न नं.१०  तपाईँ लामो समयदेखि सुर्खेतमा र यहाँको साहित्यको समिपमा रहँदै आउनु भएको छ ,सुर्खेती साहित्यलाई तपाईँले चाहिँ कसरी बुझ्नु भएको छ ?

सुर्खेतको साहित्यको इतिहास लामो छ पहिलो साहित्यिक पत्रिका ‘जुनकिरी’ प्रकाशन भएपछि साहित्य प्रकाशित हुने युग सुरु भएको पाइन्छ । त्यस यता विभिन्न खालका साहित्यिक गतिविधिहरु सञ्चालन हुँदै आएका पाइन्छन् । थुप्रै साहित्यिक संस्थाहरुको स्थापना भयो कयौँ हराएर गए र केही हालसम्म पनि क्रियाशील छन् । साहित्यको महत्वपूर्ण विधा गजलको कुरा गर्दा गजलका पनि थुप्रै गतिविधिहरु भए गरेका देखिन्छन् । गजलको लागि सुर्खेत एक उर्वर र कहिल्यै खडेरी नपर्ने ठाउँको रुपमा चित्रित छ । यहाँ विभिन्न जिल्लाबाट आएका र सुर्खेतकै गजल स्रष्टाहरुले निकै राम्रा गजलकर्महरु गरेका छन् । यसरी हेर्दा सुर्खेतमा साहित्यिक गतिविधिहरु चलिरहेका छन् र नयाँ नयाँ पुस्ता निर्माण भइरहेका छन् । यसको निरन्तरताको आवश्यकता देखिन्छ र यसमा हामी सबै लागेर अझ उचाइ थप्ने काम गर्नु छ ।

प्रश्न नं.११  अन्य विधाका सर्जकहरुमा भन्दा गजलकारहरुमा बढी गुटबन्दीका कित्ताहरु छुटिने गरेका थुप्रै दृष्टान्तहरु भेटिन्छन् । सुर्खेती साहित्यमा यसका बाछिटाहरुले छोएका छन् कि छैनन् साथै त्यो परिदृश्य सुर्खेतमा देखिएको छ भने अब के गर्ने ?

  अर्को महत्वपूर्ण कुरा उठाउनु भयो । नेपाली गजलमा विभिन्न समयमा विभिन्न खालका बहसहरु र तपाईँले भने जस्तै गुटगत समूहरु पनि देखा पर्दै आइरहेका छन् । बहर र गैर बहरका गुटहरु, राजनीतिक दलका आधारमा गुटहरु, दारु खाने र नखानेका गुटहरु, बुढापाका र तन्नेरीका गुटहरु, पुराना हौँ भन्ने र नयाँ हौँ भन्नेहरुका गुटहरु आदिका आधारमा गुट हुने गरेको कुरालाई कसले नकार्छ होला र ? यो नेपाली गजलको लागि निकै नै घातक कुरा भएर देखिएको छ । यसलाई कसरी हटाउने भन्ने सन्दर्भमा अब एउटा ठुलै बहस गर्नु पर्ने खाँचो देखिएको छ ।

यो रोगले नेपालका अधिकांश ठाउँलाई संक्रमित बनाइ सकेको देखिन्छ । यसका बाछिटाहरुका केहि उपछिटाहरु सुर्खेतसम्म पनि आएका हुन कि जस्तो बेलाबेलामा देखिन्छ । केहि आफू ठुलै साहित्यकार हुँ भन्ने मनोगत समस्याका भएका व्यक्तिका कारण यो विगतका दिनहरुमा पनि देखिएको थियो र वर्तमान समयमा पनि त्यस्तो खालको महसुस गर्नु परेको छ तर भेल बाढी आउने गरी चाहिँ यसका बाछिटाहरु आइपुगेका देखिएको छैन । देख्न पनि नपरोस् भन्ने तर्फ हामी सतर्क छौँ । यदि यस्ता खालका समस्याहरु देखा पर्न थाले भने हामी कसैले पनि नेपाली गजललाई योगदान दिन सक्दैनौँ तसर्थ यस्ता समस्या आउन थाल्ने बित्तिकै सबैजना बसेर निर्मम समिक्षा गर्नु पर्छ र पुनः सबै एकजुट भएर अगाडि बढ्नु पर्छ भन्ने मलाई लाग्छ र त्यो गरिरहेका पनि छौँ ।

प्रश्न नं. १२  तपाईँलाई मन पर्ने साहित्यकार र मन पर्ने पुस्तक कुन हो ?

  मलाई नेपाली साहित्यका अपवाद बाहेक सबै साहित्यकारहरु मन पर्छन् । सबैका आआफ्नै खालका व्यक्तित्व, विचार र व्यवहार हुन्छन् । अग्रज सबै साहित्यकारहरुलाई सम्मान गर्छु । समकक्षी र अनुजहरुमा पनि आत्मियता बाँड्न रुचाउँछु, बाँडिरहेको छु । यो चाहिँ मन पर्छ भनेर एउटा तोक्नु पर्ने व्यक्ति चाहिँ कोहि छैन र पुस्तकका हिसाबले पनि म बजारमा आएका राम्रा पुस्तकहरु प्रायः सबै पढ्छु सबैका आआफ्नै विशेषताहरु हुन्छन् । आआफ्नै महत्व हुन्छ । म आफ्नै ढङ्गले बुझ्दछु र विश्लेषण गर्दछु । यहि किताब भनेर भन्नुपर्ने पुस्तक पनि छैन ।

कविता र गजललाई कसरी बुझ्नु भएको छ ?

नेपाली साहित्यको विधागत विभाजनलाई हेर्दा कविता र गजल एउटै काव्य विधामा पर्दछन् । यी दुबै काव्यका उपविधाहरु हुन् । काव्यभित्र गीत, कविता, गजल, मुक्तक आदि जस्ता अनुप्राशीय गुण भएका रचनाहरु पर्दछन् तसर्थ यी दुबै काव्यहरु हुन् । यिनका आआफ्नै संरचनागत भिन्नताहरु छन् । एउटा काव्य विधा कै उपविधाहरु भएकाले यिनीहरुमा केहि समानताहरु भए पनि शैलीगत थुप्रै विभिन्नताहरु छन् । गजलका प्रत्यक शेरहरुमा भिन्न भिन्न विचार प्रस्तुत गर्न सकिन्छ भने कवितामा एउटा विषयमा मात्र विचार विनिमय गर्नु पर्ने हुन्छ । मैले हेर्दा कविता र गजलको उत्तिकै महत्व र स्थान छ । लेख्न पनि राम्रो लेख्ने हो भने दुबै कठिन पनि छन् । कविता र गजलको महत्वपूर्ण भिन्नता भनेको विषयवस्तुको प्रस्तुति हो गजलमा एउटै गजलबाट धेरै फरक फरक विचार विषय प्रस्तुत गर्न सकिन्छ त्यसैले गजलको शीर्षक हुँदैन भने कवितामा जुन शीर्षक छ त्यसकै पेरिफेरिमा रहेर एउटै विषयमा प्रस्तुत गर्नु पर्ने हुन्छ । दुबै महत्वपूर्ण छन् दुबैमा साधनाको बढी जरुरत पर्दछ ।

अन्तमा मैले सोध्न भुलेका र तपाईँलाई राख्न मन लागेका विषय वा विचार भए राख्न सक्नु हुनेछ ।

  विचारहरु विभिन्न सन्दर्भमा भिन्न तरिकाले प्रस्तुत गर्ने गरिन्छ । मैले तपाईँले सोधेका सवाल माथि जवाफ दिने प्रयत्न गरेँ । नेपाली साहित्यमा कलम चलाउनेहरु सबैमा एकता अनिवार्य हुन्छ । हामीले लेख्ने रचना समाजका खातिर हो त्यसैले समाजलाई पच्ने खालका हुनु पर्छ । सहज, सरस भाषाशैलीको प्रयोगले पाठकलाई बोध गर्न सजिलो पर्छ ।

त्यसैले रचना सजिला र रसिला हुनु पर्छ भन्ने लाग्छ । संस्कृतका अप्ठ्यारा शब्दहरु राखेर साहित्यलाई क्लिष्ट बनाएर ठुलो साहित्यकार कहलिने समय यो होइन सजिलो बोधगम्य भाषामा रसिला रचनाहरु प्रस्तुत गर्न सक्ने साहित्यकारको खुबीलाई अहिलेको समाजले रुचाउँछ जस्तो लाग्छ । यसमा कसैको असहमति छैन होला भन्ने लाग्छ । मलाई यो अवसर दिनु भयो कुसे न्युज परिवार र यसका साहित्य सम्पादक तपाईँ धिरेन अनुपम प्रति कृतज्ञ छु । धन्यवाद ! नमस्कार !

गजल

आज रुन के भयो र अक्सर रोएको हो ,
म भन्दा पनि धेरै त पत्थर रोएको हो ।

घरको झ्यालबाट आँसुहरु खसेका छन्
मान्छे रोएको हो कि यो घर रोएको हो ।

आफ्नै मृत्युमा पनि लास रुन सकेन
उसको बाध्यता देखेर सहर रोएको हो ।

काँधमै बसेर पनि बचानउन नसकेपछि
गर्धन काटियो भनेर मफलर रोएको हो ।

फेरि रुन कै लागि अनुरोध आएको छ
उसैलाई सम्झिएर भर्खर रोएको हो ।