सर्लाहीका इञ्चार्ज वाग्लेलाई कोरोना संक्रमण
सर्लाही, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहेका सर्लाही जिल्ला इञ्चार्ज डाचाराज वाग्लेलाई कोरोना संक्रमण भएको छ ।
सर्लाहीको बागमती नगरपालिकामा गरिएको परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको हो । वाग्लेसहित सत्तारुढ नेकपा सर्लाहीका प्रमुख तीन नेता कोरोना संक्रमित भइसकेका छन् ।
हाल महोत्तरीको बर्दिबासस्थित आफ्नै निवासमा रहेका वाग्लेले रिपोर्टले कोरोना पोजेटिभ देखाए पनि आफूलाई संक्रमणको कुनै लक्षण नदेखिएको जानकारी दिएका छन् । गएको सोमबार स्वाब दिएको र हिजो बिहीबार पोजेटिभ रिपोर्ट आएको जानकारी दिंदै उनले भने, ‘ममा अहिलेसम्म कोरोनाको कुनै लक्षण छैन। ’
अब नेगेटिभ रिपोर्ट नआउन्जेल होम आइसोलेसनमै बस्ने वाग्लेले बताएका छन् । वाग्लेकी पत्नी सरस्वती मिश्रको परीक्षणको रिपोर्ट आउन बाँकी छ । यसअघि नेकपा सर्लाहीका जिल्ला अध्यक्ष रेवती पन्त र नेकपाका केन्द्रीय सदस्य समेत रहेका सर्लाही जिल्ला सहइञ्चार्ज अच्युतम काफ्लेमा पनि कोरोना देखिएको थियो ।