एभरेष्ट बैंकको हेलचेक्राइ, कोरोना संक्रमण देखिएको शाखामा सेवा सञ्चालन

जनकपुर,  कोरोना भाइरस कोभिड १९ को संक्रमण जोखिममा बैंक तथा वित्तिय संस्थाहरु पहिलो नम्बरमा छन् । त्यहाँ कार्यरत कर्मचारीमा संक्रमण बढ्दो क्रममा छ । तर, बैंकका उच्च अधिकारीहरकै लापरबाहीका कारण संक्रमण झनै खतरनाक रुपमा बढिरहेको छ ।

घटना एभरेष्ट बैंकको हो । एभरेष्ट बैंकको जनकपुर शाखामा कार्यरत एक २७ वर्षिय पुरुषको गत साउन २३ गते पिसिआर परिक्षणका लागि स्वाव संकलन गरिएको थियो । चार दिनपछि अर्थात साउन २७ गते आएको पिसिआर परिक्षणको रिपोर्टमा उनलाई कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भयो ।

त्यसपछि बैंकले २ दिनसम्म आफ्नो सेवा बन्द गर्यो । साउन २८ र २९ गते सेवा बन्द गरेको एभरेष्ट बैंक ३० गतेदेखि पुन सञ्चालनमा आयो । अत्याधिक भिडभाड हुने जनकपुर शाखामा कार्यरत कर्मचारीको ३० गते बेलुका नै सबै कर्मचारीको कारोना परिक्षणका लागि स्वाव संकलन गरियो । तर, नतिजा नआउँदै बैंकले सेवा दिइरहेको पाइएको छ । जनकपुरका एक स्थानियका अनुसार एभरेष्ट बैंकले शुक्रबारदेखि सेवा सञ्चालन गरेको हो ।

पिसिआरको नतिजा नआउँदै यसरी ग्राहकको स्वास्थ्यमा खेलबाड गरिएको पाइएको छ । अन्य बैंक तथा वित्तिय संस्थामा कोरोना भाइरस संक्रमण देखिएपछि शिल गरिएको छ । तर, भारतीय लगानी रहेको एभरेष्ट बैंकले भने कर्मचारी र ग्राहकको स्वास्थ्यमा गम्भिर खेलवाड गरिरहेको छ । एभरेष्ट बैंक जनकपुर शाखाका म्यानेजर बिनय प्रसाद उपाध्यायलाई सम्पर्क गर्दा उनले स्थानिय निकायको कुनै निर्देशन नआएको कारण सेवा सञ्चालन गरेको प्रतिक्रिया दिए । बैंकको मुख्यालयबाट समेत केही सर्कुलर नआएकाले सेवा सञ्चालन गरिरहेको बताए ।

सिडिओ भट्टराईको गैरजिम्मेवार जवाफ !

यस विषयमा प्रतिक्रिया लिन हामीले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई सम्पर्क गर्यौँ । प्रमुख जिल्ला अधिकारी भट्टराईले गैरजिम्मेवार जवाफ दिए । उनले कोरोनाको लक्षण नदेखिएको व्यक्तिलाई राखेर सेवा सञ्चालन गरिरहेकाले बन्द नभएको बताए ।
यद्धपी एक जनालाई कोरोना देखिएको भने उनले स्विकार गरे । अन्य व्यक्तिको समेत स्वाव संकलन भएको र उनीहरु मध्ये थप २÷३ जनालाई कोरोना भाइरस पोजिटिभ देखियो भने मात्रै बैंक बन्द गर्ने तयारी रहेको उनको भनाई छ । उनीहरुको परिक्षणमा पोजिटिभ देखियो भने अन्य ग्राहकलाई समेत कोरोना भाइरस संक्रमण फैलने खतरा देखिएको छ ।