आज थपिएका ८३८ संक्रमितमध्ये कुन जिल्लाका कति ?

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज (शुक्रबार) थपिएकासहित नेपालमा संक्रमितको संख्या ३० हजार ४८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ५७९ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा ८३८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा २५० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ पुगेको छ । नेपालमा १२ हजार १३२ जना सक्रिय सङ्क्रमित छन् । यस्तै १२ हजार २३४ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् ।

प्रदेश–१ को सात जिल्लाका ८९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । इलामका २, उदयपुरका ४, झापाका ७, ताप्लेजुङका १–१, मोरङका ४५ र सुनसरीका २९ जनामा कोरोना पुष्टि भएको हो ।

प्रदेश–२ को ७ जिल्लाका १ सय ७९ जनामा कोरोना भेटिएको छ । कोरोना भेटिनेमा धनुषाका ३, पर्साका ८०, बाराका ४०, रौतहटका ११, सप्तरीका ५, सर्लाहीका २४ र सिराहाका १६ जना छन् ।
बागमती प्रदेशमा गत २४ घण्टामा २ सय ५० जनामा कोरोना पाइएको छ ।

१० जिल्लाका २ सय ५० जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा मात्र १ सय ४२, चितवनमा २३, दोलखा र धादिङमा १–१, नुवाकोटमा २, भक्तपुरमा १५, मकवानपुरमा ३२, रसुवामा १, ललितपुरमा २५ र सिन्धुलीमा ८ जना संक्रमित भेटिएका छन् ।

यस्तै, गण्डकी प्रदेशमा ६ जिल्लाका २७ जनामा कोरोना भेटिएको छ । मन्त्रालयका अनुसार कास्कीमा १, नवलपरासी पूर्वमा १९, पर्वतमा १, मनाङमा २, बागलुङमा ३ र स्याङजामा १ जनामा कोरोना भेटिएको हो ।

प्रदेश–५ को १० वटा जिल्लामा ५९ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा अर्घाखाँचीका १, कपिलवस्तुका २, गुल्मीका १, दाङका ४, पाल्पाका १, प्युठान र बर्दियाका ६–६, बाँकेका २०, रुपन्देहीका १७ र रोल्पाका १ जना छन् ।

यस्तै कर्णाली प्रदेशको ४ जिल्लाका ५८ जनामा कोरोना पाइएको छ । कालिकोटमा १, जुम्लामा ५३, दैलेखमा १ र रुकुम पश्चिममा ३ गरी ५८ जनामा कोरोना पाइएको प्रवक्ता गौतमले बताए ।
सुदूरपश्चिमको ६ जिल्लामा १७६ जनामा कोरोना भेटिएको छ । अछाममा ३८, कञ्चनपुरमा १४, कैलालीमा ८५, डडेल्धुरामा २, डोटीमा ३४ र बैतडीमा ३ जनामा कोरोना भेटिएको हो ।