लमहीमा एम्बुलेन्सबाट लडेर एक महिलाको मृत्यु

देउखुरी, चलिरहेको एम्बुलेन्सबाट लडेर लमहीमा एकजनाको मृत्यु भएको छ । दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ भैँसाहिनाका स्थायी घर भएकी हाल लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री (खुटी) की ३५ बर्षीया कमला बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गुडिरहेको एम्बुलेन्सबाट लडेर टाउकोमा गहिरो चोट लागेकी बिकको गएराति कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्वल थपलियाले जानकारी दिए । नेपालगञ्जबाट उपचार गरेर घर फर्किदै गर्दा भे १ च १६४५ नम्बरको एम्बुलेन्सबाट गाउँमा पुग्ने क्रममै लडेकी थिइन् ।

कसरी लडिन कमला ? कमलासँगै एम्बुलेन्समा अन्य २ जना सवार थिए । उनीहरु नेपालगञ्जबाट उपचार गरेर घर फर्किदै थिए । कमला स्वयं बिरामी भएको बुझिएको छ । लमही– ७ बनघुस्री चोकमा पुगेपछि कमलासँगै सवार अन्य २ जना झर्नुपर्ने भएकाले एम्बुलेन्स रोकियो । कमलाबाहेक अन्य सवार २ जना ओर्लिए । उनी झर्ने स्टेशन अलि पर नै थियो ।

प्रत्यक्षदर्शी किशोर घर्तीका अनुसार एम्बुलेन्स रोकिएर चल्ने क्रममा पछाडिको ढोका आफै खुलेर उनी सडकमा पछारिएकी थिइन् । ढोका खुलेर नलागेको अबस्थामा सोही ढोकामा कमला अडिएको हुनसक्ने प्रहरीको अनुमान छ । एम्बुलेन्स र चालक प्रहरीको नियन्त्रमा रहेको लमही प्रहरीले जानकारी दिएको छ ।