सुदूरपश्चिममा थपिए १२९ जना कोरोना संक्रमित
धनगढी, सुदूरपश्चिममा एकै दिन १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार २१५ पुगेको छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिम प्रदेशमा रहेका तीन वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक हजार २११ जनाको कोरोना परीक्षण भएको छ। परीक्षणमा कैलालीका ५०, डोटीका ३४, अछामका ३०, कञ्चनपुरका १४ र डडेल्धुराका एक जनामा कोरोना संक्रमण देखिएको छ ।
सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ६९४ जनाको परीक्षणमा ६४ जनामा संक्रमण पुष्टि भएको छ । कैलालीको गौरीगंगा नगरपालिकाका २६ जना, गोदावरी नगरपालिकाका ११ जना, घोडाघोडी नगरपालिकाका १० जना र भजनी नगरपालिकाका तीन जना र कञ्चनपुरको भिमदत्त नगरपालिकाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
उता, डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३७० जनाको परीक्षणमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालका अनुसार अछामको मेल्लेख गाउँपालिका र साँफेवगर नगरपालिकाका १५–१५ जना, डोटीको आदर्श गाउँपालिकाका १६ जना र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, डोटी जिल्ला अस्पतालको प्रयोगशालामा १४७ जनाको परीक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टि छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार संक्रमण पुष्टि भएका सबै डोटीका हुन् । दिपायल सिलगढी नगरपालिका–५ का पाँच जना, वडा नम्वर ६ का तीन जना, वडा नम्वर २ का दुई जना, वडा नम्वर ३, ४ र ८ का एक–एक जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत तीन जना, राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत एक जना र केआईसिंह गाउँपालिकाका एक महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म सबैभन्दा बढी कैलालीमा एक हजार तीन सय ८० जना, डोटीमा ९१९, अछाममा ७७०, बाजुरामा ६२३, कञ्चनपुरमा ६१२ जना, डडेल्धुराका ३१५, बैतडीका ३०१, बझाङका २९८ र दार्चुलाका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।