सिन्धुपाल्चोक पहिरोमा पुरिएका थप तीन शव भेटियो

सिन्धुपाल्चोक,  सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी गत शुक्रबार गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये थप तीन जनाको शव भेटिएको छ ।

पाँच वर्षीय सानुकान्छा दोङ, ४२ वर्षीया जिबिरानी दोङ र १८ वर्षीया ललिता दोङको आज (बिहीबार) बिहान शव भेटिएको इलाका प्रहरी कार्यालय जलवीरेले जनाएको छ । यससँगै उक्त पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । यसअघि २५ जनाको शव भेटिएको थियो ।

अझै ११ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । बेपत्ताहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी साबेल र कोदालोका भरमा खोजी भइरहेका छन् । २०७२ को भूकम्पले हल्लाएको यो गाउँलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिम न्यूनीकरण गरेर मात्र बस्ती बसाल्नुपर्ने गाउँको सूचीमा राखेको थियो । तर, भूकम्प गएको ५ वर्षसम्म पनि पहिरोबाट बचाउन कुनै काम नहुँदा र बस्ती नसारिदा पहिरोबाट ठूलो मानविय क्षति भएको हो ।