युवतीलाई एसिड हान्‍ने दुईजना जेल चलान

काठमाडौं , गत साउन ८ गते काठमाडौंको सीतापाइलामा ओखलढुंगाकी युवती पवित्रा कार्कीलाई एसिड हान्‍ने दुईजनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ। 

उक्त मुद्दाको बिहीबार सुनुवाइ गर्दै न्यायाधीश कृष्णजंग शाहले कार्कीमाथि एसिड हान्‍ने मोहम्मद आलम र भारतीय नागरिक मुन्‍ना मोहम्मदलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। अदालतले एसिड प्रहारबाट घाइते कार्कीको उपचारमा राहतकोषबाट २ लाख रुपैयाँ तुरुन्त उपलब्ध गराउन आदेश दिएको छ।

यसअघि एसिड प्रहार गर्नेहरुलाई पठाए पनि मुद्दाको फैसलापछि मात्रै क्षतिपूर्ति दिने गरिन्थ्यो। तर यसपटक अदालतले सुरुवाती सुनुवाइमा नै पीडितलाई क्षतिपूर्ति भराउन आदेश दिएको हो। सुरुवाती सुनुवाइमा नै राहतकोषबाट क्षतिपूर्ति दिने आदेशले पीडितलाई उपचारमा सजिलो हुने उक्त मुद्दामा निशुल्क बहस गरेकी अधिवक्ता राधिका खतिवडाले जानकारी दिइन्। उक्त मुद्दाको थुनछेक बहसमा पीडितका तर्फबाट सयजना कानुन ब्यवसायीले वकालतनामा पेश गरेका थिए।

तर अधिवक्ताहरु राधिका खतिवडा, नानीबाबु बुढाथोकी, शान्तिराम खतिवडा, कुमार घिमिरे, दीपबहादुर कार्की, भुवन निरौलासहितले बहस गरे। सरकारी वकिल चपला पोखरेल पनि बहसमा सहभागी भइन्। पवित्रालाई एसिड हानेलगत्तै भागेका उनीहरुलाई महानगरीय प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको टोलीले केही घण्टामै समातेको थियो। हाल कीर्तपुर अस्पतालमा उपचाररत पवित्रलाई कोठाबाट दही किन्‍न निस्किएको बेलामा एसिड हानिएको थियो।