गण्डकीमा थप ६ जनामा कोरोना पुष्टि

पर्वत ,गण्डकी प्रदेशमा बिहीबार बिहान थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितहरुको सङ्ख्या १ हजार ८१८ जना पुगेको छ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कास्की, तनहुँ र स्याङ्जाका गरेर ६ जना संक्रमित थपिएका हुन्।

उनीहरू कास्कीको पोखरा महानगरपालिका ५ का १४ वर्षीय पुरुष र १६ वर्षीय महिला, वडा नं. ८ की ४२ वर्षीय महिला, तनहुँको भानु नगरपालिका ६ का ३७ वर्षीय पुरुष र वडा नं. नखुलेका २८ वर्षीय पुरुष तथा स्याङ्जाको गल्याङ् नगरपालिकाकी ४० वर्षीया महिला रहेकी छिन्। उनीहरू सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसनहरूमा लैजाने तयारी भइरहेको छ।