वीरगञ्ज ,धरान र पाटनमा चार कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ललितपुरको पाटन अस्पताल, सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पर्साको नारायणी कोरोना अस्पतालमा गरी चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।ललितपुरको पाटन अस्पतालमा भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको बुधबार मृत्यु भएको हो ।

उनी साउन २१ गतेदेखि सो अस्पतालमा उपचाररत थिइन् ।त्यस्तै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अर्की कोरोना संक्रमित महिलाको गएराति मृत्यु भएको छ ।प्रतिष्ठानमा रहेको कोभिड–१९ अस्पतालमा मोरङ बुढीगंगा २ बस्ने ६७ वर्षीया ती महिलालाई साउन २५ गतेदेखि उच्च ज्वरो, अत्यधिक खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि विराट मेडिकल कलेजमा लगिएको थियो ।

तर सो अस्पतालले रोग पहिचान गर्न नसकेपछि भदौ २ गते मंगलबार बिहान बीपी प्रतिष्ठानमा रिफर गरेको प्रतिष्ठानका प्रवक्ता प्रा।डा।निदेश सापकोटाले जानकारी दिए । उनमा मुटुको समेत समस्या रहेको अस्पालले जनाएको छ ।उता वीरगन्जको नारायणी अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका– ४ विर्ता का ८४ वर्षीय पुरुष र वीरगन्ज भिस्वाका ५७ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।