बाढीले अछाममा १६ घर बगायो,१९ जना बेपत्ता, चार शव भेटियो
प्रकासित मिति : २०७७ भाद्र ३, बुधबार १०:२०
प्रकासित समय : १०:२०
अछाम, कैलास खोलाको बाढीले अछामको रामारोशन गाउँपालिका–५ स्थित एक बस्तीको १६ घर बगाएको छ ।बाढीका कारण घरसँगै बगेका मध्ये हालसम्म चार शव भेटिएको छ भने १९ जना बेपत्ता भएको गाउँपालिकी उपाध्यक्ष सरस्वती रावलले जानकारी दिएकी छिन् ।
बाढीले गजड, मुजा र सैनी बजारमा बढी क्षति पुर्याएको उनले जानकारी दिएकी छिन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार बाढीकै कारण रामारोशन गाउँपालिका–५ सैनीबजारमा रहेका कम्तीमा पनि ३० पसलहरु बगेका छन् ।
बाढीले बगेर बेपत्ता भएकाहरुको खोजीकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको टोली बिहानैदेखि खटिएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । बाढीबाट मृत्यु भएकाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।