बाढीपहिरो पीडितलाई कांग्रेसद्वारा ४५ लाख सहयोग

काठमाडौँ, नेपाली कांग्रेस केन्द्रीय समितिले देशका विभिन्न ३० जिल्लाका बाढीपहिरो पीडितहरुलाई ४५ लाख रुपैयाँ सहयोग गरेको छ ।बाढी पहिरोका कारण पछिल्ला दिनहरुमा भएको क्षतिको उद्धार र राहतका लागि कांग्रेसले सहयोग गरेको हो ।

पहिलो चरणमा ३० जिल्ला कार्यसमितिको नाममा १ लाख ५० हजार रुपैयाँको दरले रकम पठाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति मार्फत जानकारी गराएका छन ।

कांग्रेसले पहिलो चरणमा राहत पठाएका जिल्लाहरुमा लमजुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, महोत्तरी, पर्सा, धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर, बारा, सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्की छन् ।कांग्रेसले बाढी पहिरोबाट प्रभावितहरुको उद्धार र राहतका लागि सबैलाई आ–आफ्नो ठाउँबाट जुट्न पनि आग्रह गरेको छ ।